काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । यो क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाब जित्दै आएको क्षेत्र हो ।
उम्मेदवारी दिनका लागि बालेनले मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् । बालेनले आइतबार राती सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘शुभकामना सबैलाई ! हामी आउँदैछौं !’
यसलाई बालेन आफूले उम्मेदवारी दिने क्षेत्रमा ओर्लिने संकेतको रूपमा हेरिएको छ । पछिल्लो पटक २०७९ मा स्थानीय निर्वाचनको बेला पनि बालेनले यसैगरी केही दिनअघि नै उम्मेदवारी घोषणा गरेर मनोनयन दर्ता हुने दिनसम्म छुट्टै माहोल बनाएका थिए ।
बालेन निर्वाचन क्षेत्रमा कहिले ओर्लिन्छन् भन्ने स्पष्ट छैन तर उनले अहिले नै उम्मेदवारी घोषणा गर्ने संकेत गरेका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन आउन अब लगभग एक हप्ता बाँकी छ । उम्मेदवारी दर्ता माघ ६ गतेका लागि तोकिएको छ ।
बालेनले अहिले नै उम्मेदवारी घोषणा गरे पनि राजीनामा भने केही दिनपछि दिने स्रोत बताउँछ । स्रोतका अनुसार उम्मेदवारी घोषणा गर्दैमा राजीनामा दिन कानुनी रूपमा बाधयकारी नभएकोले उनले केही दिन राजीनामा दिने छैनन् । उनले उम्मेदवारी दर्ता गर्ने दिनभन्दा दुई दिनअघि माघ ४ गते राजीनामा दिने तयारी गरेका छन् ।
सत्यपाटी