२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

गगन र विश्वप्रकाशले गरे कांग्रेसको विशेष महाधिवेशन उद्घाटन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २७ गते आइतबार

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशन उद्घाटन गरेका छन् । थापा र शर्माले दीप प्रज्ज्वलन र विरुवामा पानी हालेर महाधिवेशनको औपचारिक सुरुवात गरेका हुन् ।

प्रमुख अथितिका रूपमा पार्टी सभापति शेरबहादुर देउवालाई बोलाइएको थियो । देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी नबनेपछि महामन्त्रीद्वयले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोह कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा जारी छ । पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशनको माग गरेका थिए ।

तर, संस्थापन समूहले यसलाई विधानसम्मत नभएको भन्दै टारिरहेको अवस्थामा महामन्त्रीद्वयले महाधिवेशनको आह्वान गरेका हुन् । यसै अनुसार, विशेष महाधिवेशनको पक्षमा रहेका प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् ।

उद्घाटनअघि कांग्रेसका नेता–कार्यकर्ता र प्रतिनिधिहरू काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भेला भई र्‍यालीसहित महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका थिए ।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार