गत २३ र २४ भदौको जेनजी आन्दोलनमा साढे २३ करोड रुपैयाँभन्दा धेरै नोट जलेर नष्ट भएको छ । आन्दोलमा साढे ७८ करोड बराबरको नगद क्षति हुँदा जलेर नष्ट भएको २३ करोड ६९ लाख बराबर हो ।
जेनजी आन्दोलपछि बनेको अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनःनिर्माण योजना तयारी समितिको प्रतिवेदन २०८२ अनुसार नगद तथा बहुमूल्य वस्तु वा सम्पत्तिमा पुगेको क्षति कुल दुई अर्ब ८१ करोड ३४ लाख रूपैयाँ बराबर रहेको छ ।
जमा चोरीका कारण ३२ करोड ८१ लाख रुपैयाँ क्षति पुगेको छ भने तोडफोडका कारण नगदमा पुगेको क्षति २२ करोड बराबर छ । कुल क्षति रकममध्ये चोरीबाट ५७.५ प्रतिशत, तोडफोडबाट ११.६ र आगजनीबाट ३०.९ प्रतिशत क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
सुनचाँदी, हिरामोती जस्ता बहुमूल्य धातुमा समेत चोरीबाट एक अर्ब दुई करोड ६४ लाख बराबर क्षति भएको छ । यस्ता धातुमा आगजनी र तोडफोडका कारण क्रमशः १३ करोड ११ लाख र ९३ लाख बारबरको क्षति पुगेको छ ।
यस्तै, अन्य बहुमूल्य वस्तुमा पनि आगजनी र तोडफोडको तुलनामा चोरी क्षतिको प्रमुख कारण देखिएको प्रतिवेदनले देखाएको छ । निजी प्रतिष्ठानहरूसँग रहेको नगद मौज्दात तथा सुनचाँदी लगायत बहुमूल्य वस्तुमा पुगेको क्षतिको रकम ५६ करोड १८ लाख बराबर छ ।
यो रकम निजी प्रतिष्ठानहरूले बेहोरेको कुल क्षतिको २.६ प्रतिशत हो । नगद तथा बहुमूल्य वस्तुमा पुगेको क्षति मुख्यतस् चोरी र आगजनी घटनाबाट भएको देखिन्छ । कुल क्षति रकममध्ये सबैभन्दा ठूलो अंश अन्य बहुमूल्य वस्तुको ६३.२ प्रतिशत रहेको छ ।
सत्यपाटी