२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २७ गते आइतबार

इन्डियन आइडल सिजन ३ का विजेता तथा चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज बिहान उनको निधन भएको हो । केही स्रोतले हृदयघातलाई निधनको कारण भएको जनाएका छन् ।

नेपाली मूलका भारतीय गायक तामाङ इन्डियन आइडल २००७ को उपाधि जितेपछि नेपाल र भारत दुवैतर्फ लोकप्रिय बनेका थिए । उनले थुप्रै नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा पनि अभिनय गरेका छन् । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।

संगीत र अभिनय दुवै क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका तामाङ इन्डियन आइडलको मञ्चबाट रातारात चर्चामा आएका थिए । प्रतियोगिताका क्रममा नेपालसहित विश्वभर रहेका लाखौँ नेपालीको व्यापक समर्थन र भोटका कारण उनी विजेता बनेका थिए। यही कारण उनी नेपालमा पनि अत्यन्त लोकप्रिय थिए ।

पछिल्लो समय उनले सलमान खान अभिनित बलिउड फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म २०२० को गलवान भिडन्तमा आधारित रहेको छ । तामाङको निधनको खबरले सङ्गीत क्षेत्रमा शोकको लहर छाएको छ । उनका प्रशंसक र शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार