२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

ट्रम्पको डान्स नक्कल गर्दा मादुरोको ‘अपहरण’ !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २७ गते आइतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरोले आफ्नो सिग्नेचर नृत्य चाल (डान्स स्टेप) नक्कल गरेको बताएका छन् । मंगलबार ट्रम्पले मादुरोले आफ्नो हिप हल्लाउने र हातको इसारा गर्ने शैली नक्कल गरेको आरोप लगाएका हुन् ।

द टाइम्सका अनुसार ह्वाइट हाउस स्रोतहरूले मादुरोको हालैका सार्वजनिक नृत्य र लापरवाही प्रदर्शनलाई अमेरिकी धम्कीको खिल्ली उडाएको ठानेपछि गत शनिबार काराकसमा अमेरिकी सेनाले कारबाही गरेको हो । ‘उनी स्टेजमा उठेर मेरो नृत्यको अलिकति नक्कल गर्ने प्रयास गर्छन्,’ ट्रम्पले रिपब्लिकन सांसदहरूसँग भने ।

भेनेजुएलाका पूर्वराष्ट्रपति ह्युगो चाभेज पनि र्‍यालीमा नाच्थे । तर ट्रम्पको टोलीले मादुरोले अमेरिकी सैन्य तयारीको मजाक उडाएको महसुस गरेको थियो । यो कारबाहीमा मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेस पक्राउ परेका छन् । उनीहरूलाई न्यूयोर्क लगेर लागूऔषध र आतंकवादका आरोपमा मुद्दा चलाएर अनुसन्धान भइरहेको छ ।

दुवैले दोषी नभएको बताउँदै आएका छन् । ट्रम्पले मादुरोलाई हिंस्रक भनेका छन् । ‘उनी एक हिंस्रक मान्छे हुन्, र उनले लाखौं मानिसको हत्या गरेका छन् । उनीहरूलाई यातना दिइएको छ, काराकासको बीचमा उनीहरूको एउटा यातना कक्ष छ जुन उनीहरूले बन्द गरिरहेका छन्,’ ट्रम्पले भने । ट्रम्पले आफ्नी श्रीमती मेलानियाले आफ्नो नृत्य मन नपराउने पनि बताए ।

‘म नाच्दा उनलाई नराम्रो लाग्छ । मैले भने, ‘सबैजना म नाचेको चाहन्छन्, प्रिय’ ।’ प्रथम महिलाले जवाफ दिइन्, ‘उनीहरूलाई यो मन पर्दैन । तिनीहरू केवल तपाईंसँग राम्रो व्यवहार गरिरहेका छन् ।’ मादुरो प्रायः सार्वजनिक रूपमा नाच्थे, जुन ट्रम्पको शैलीसँग मिल्दोजुल्दो थियो । पक्राउअघि उनले ‘नो वार, येस पिस’ भन्दै नाचेका थिए, जुन भाइरल भएको थियो ।

अमेरिकी सेनाले शनिबार काराकसमा सैन्य कारबाही गरेर मादुरो दम्पतीलाई न्यूयोर्क लगेको थियो । भेनेजुएलामा डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति बनेकी छन्, जो मादुरोकी उपराष्ट्रपति थिइन् । ट्रम्पले नयाँ सरकारलाई अमेरिकी हितविपरीत गए मादुरोभन्दा खराब नतिजा भोग्न तयार हुन चेतावनी दिएका छन् । अमेरिकाले भेनेजुएलाको तेल नियन्त्रणमा लिने र पाँच करोड ब्यारेलसम्म तेल पाउने दाबी गरेको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार