२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

देउवाको हातबाट फुत्किँदै कांग्रेस

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २६ गते शनिबार

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथिका लागि सभापति शेरबहादुर देउवालाई निम्तो गरिएको छ । आयोजक समितिले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित केन्द्रीय कार्यसमितिलाई निमन्त्रणा पठाएको छ ।

विशेष महाधिवेशन व्यवस्थापन समितिले सभापति देउवालाई प्रमुख अतिथिसहित पार्टीका पदाधिकारीलाई महाधिवेशनमा सहभागी हुन भन्दै निमन्त्रणा पठाएको हो । यद्यपी देउवा विशेष महाधिवेशनमा सहभागी हुन्छन् वा उनको हातबाट कांग्रेस फुत्किन्छ यसै भन्न सकिँदैन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति देउवालाई महाधिवेशनमा सहभागिताका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै सभापति सहभागी भए देउवाकै हातबाट महाधिवेशन उद्घाटन गरिने र उनलाई नै प्रमुख अतिथि बनाइने बताए ।

आइतबार दिउँसो १ बजे भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन गर्ने कार्यतालिका छ । सभापति देउवा सहभागी नहुने अवस्थामा भने अन्य कुनै व्यक्तिलाई प्रमुख अतिथि बनाएर महाधिवेशन अघि बढ्ने शिवाकोटीले जानकारी दिए ।

विशेष महाधिवेशनको सभापतित्व भने नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ । विशेष महाधिवेशनमा अन्य दलका नेताहरूलाई भने निमन्त्रण गरिएको छैन ।

प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार