आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेको तीन निर्वाचन क्षेत्रमा खटाउन दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरिएको हो ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति बाँकेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेर दरखास्त लिन समेत सुरु गरेको छ ।
समितिले जारी गरेको सूचना अनुसार निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी माघ १ गतेसम्म दरखास्त दिन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
भर्ना हुन चाहनेहरुले जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय भगवानपुर, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी भवनियापुर बाँके र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शमसेरगन्ज बाँकेमा दरखास्त दिन सकिने पनि जनाइएको छ ।
यस्तै, निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोके बमोजिम रहनेछ । सेवा सुविधा अन्तरगत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाको दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक प्रदान गरिन समितिले जनाएको छ । साथै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्चसमेत उपलब्ध गराइने सूचनामा उल्लेख छ ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जारी गरेको सूचना अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त संख्यामा निर्वाचन प्रहरी परिचालन गरिने जनाइएको छ । बाँकेमा यसपटक तीन लाख ५१ हजार ४३९ जना मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।
उनले निर्वाचन क्षेत्र नम्बर एकमा एक लाख २१ हजार ५३१, क्षेत्र नम्बर दुईमा ९८ हजार ५१२ र क्षेत्र नम्बर तीनमा एक लाख १३ हजार ८९१ मतदाता रहेको बताए । बाँकेमा १३९ मतदान स्थल र ४०० मतदान केन्द्र रहेको पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सत्यपाटी