२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

रास्वपासँग एकता भाँडिएपछि कुलमान उनेपाको अध्यक्ष

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २६ गते शनिबार

उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए ।

उनका अनुसार कुलमान उनेपाको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने शनिबारै साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको छ । निर्वाचन आयोगमा अध्यक्ष अनुप उपाध्यायको नाममा पार्टी दर्ता भएको थियो ।

रास्वपाको उपसभापति बनेर आगामी चुनावमा जाने तयारीमा थिए घिसिङ । तर रास्वपासँग सहमति भाँडिएपछि उनलाई उनेपाले अध्यक्ष बनाएको हो ।

घिसिङले पुस १४ मा भएको सहमतिविपरीत माग राखेपछि एकता टरेको रास्वपाको भनाइ छ । ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार छलफल भएको थियो ।

मन्त्री पदबाट राजीनामा दिएका कुलमान यसबीच शनिबार पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए । स्रोतका अनुसार कुलमानले रास्वपासँग केन्द्रीय समितिमा २६ सिट पाउनुपर्ने अडान राखेका थिए ।

रास्वपाले यसअघि १२ सिट दिने अनौपचारिक निर्णय गरेको थियो । यसैगरी समानुपातिकमा आफ्नो तर्फका कम्तिमा ६ जनाको सिट सुनिश्चितको माग राखेका थिए । यस्तै प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको ३० प्रतिशत उम्मेदवारी सुनिश्चित गर्नुपर्ने पनि माग थियो ।

प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार