२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

उम्मेदवार सिफारिस एमाले नेता नै रास्वपामा प्रवेश

सत्यपाटीसत्यपाटी । दैलेख । २०८२ पुस २६ गते शनिबार

नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएका नन्दकिशोर बस्नेत (एनके) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । शनिबार रास्वपाको केन्द्रीय कार्यालयमै गएर उनी पार्टी प्रवेश गरेका हुन् ।

बस्नेत एमाले दैलेखमा चिनिएकै नेता हुन् । उनलाई यसअघि नै चुनाव लड्ने नेताका रूपमा चर्चा गरिन्थ्यो । सोही अनुसार यो पटक एमाले दैलेखले क्षेत्र नम्बर १ बाट बस्नेतसहित पाँच जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।

पछि रत्नबहादुर खड्का र तेजबहादुर चन्दले नाम फिर्ता लिए । तर बस्नेत, रविन्द्रराज शर्मा र लिला विसीको नाम पार्टी केन्द्रमै सिफारिस गरिएको छ । यता बस्नेतले भने रास्वपा प्रवेश गरेपछि एमाले कार्यकर्ताहरू अचम्ममा परेका छन् ।

एक नेताका अनुसार उनी एमालेबाट टिकट नपाउने निश्चित भएसँगै रास्वपमा प्रवेश गरेका हुन् । सम्भवतः बस्नेत रास्वपाबाट दैलेख–१ मा चुनाव लड्ने सम्भावना देखिएको छ ।

शनिबार पार्टी प्रवेश गर्नेमा अनेरास्ववियु पूर्वकेन्द्रीय सदस्य शमशेर खड्का, राष्ट्रिय युवा संघ सहकारी विभागका केन्द्रीय सदस्य प्रकाश ढुङ्गाना, नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्वकार्यकारी अधिकृत बखतबहादुर शाहीलगायत छन् ।

प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार