राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र परिवारवाद र अवसरवाद हावी भएको आरोप लगाउँदै आमरण अनसनमा बसेका महिला नेतृहरूलाई पार्टीको केन्द्रीय कार्यालयमै बाहिरबाट ताला लगाएर थुनिएको घटनाले गम्भीर विवाद उत्पन्न गरेको छ ।
पार्टीको समानुपातिक उम्मेदवार सूची सार्वजनिक भएपछि असन्तुष्ट बनेका महिला नेतृहरूले सूचीप्रति आपत्ति जनाउँदै पार्टी कार्यालयमै आमरण अनसन सुरु गरेका थिए । उनीहरूले समानुपातिक सूची समावेशी, न्यायोचित र त्याग–संघर्षको आधारमा बन्नुपर्नेमा पहुँच, नातावाद र अवसरवादका आधारमा तयार पारिएको आरोप लगाएका छन् ।
महिला नेतृहरूले समानुपातिक सूचीमा खुश्बु ओली तथा पार्टीका एक उपाध्यक्षकी श्रीमतीलाई समावेश गरिएको विषयप्रति गम्भीर आपत्ति जनाएका छन् । लामो समयदेखि पार्टीका लागि सङ्घर्षरत, सङ्गठन निर्माणमा सक्रिय तथा योगदान दिएका महिला नेतृहरूलाई पाखा लगाएर पारिवारिक र व्यक्तिगत सम्बन्धका आधारमा नाम समावेश गरिएको उनीहरूको आरोप छ ।
उक्त विरोध कार्यक्रम अन्तर्गत पार्टी कार्यालयमै आमरण अनसनमा बसेका महिला नेतृहरूलाई बाहिरबाट चाबी लगाएर कार्यालयभित्रै थुनिएको उनीहरूले बताएका छन् । शान्तिपूर्ण रूपमा भइरहेको आन्दोलनलाई दबाउन यस्तो गैरलोकतान्त्रिक, अमानवीय र निन्दनीय व्यवहार गरिएको भन्दै उनीहरूले कडा आक्रोश व्यक्त गरेका छन् ।
अनसनरत महिला नेतृहरूले पार्टी नेतृत्वसँग समानुपातिक सूची तत्काल सच्याउन, परिवारवाद र अवसरवाद अन्त्य गर्न तथा पार्टीभित्र महिलाको सम्मानजनक, समान र न्यायोचित सहभागिता सुनिश्चित गर्न माग गरेका छन् । माग पूरा नभएसम्म अनसन नतोड्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
यस घटनाले राप्रपाभित्रको आन्तरिक लोकतन्त्र, महिला अधिकार र समावेशी राजनीतिमाथि गम्भीर प्रश्न उठाएको छ । पार्टी नेतृत्वको तर्फबाट भने हालसम्म यस विषयमा कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।
सत्यपाटी