बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँमा एक स्थानीयको घरमा आगलागी हुँदा दुध दिने भैँसी लगायत आठ वटा जनावर जलेर मरेका छन् । ती जनावरसँगै सो घरमा राखिएको करिब ११ क्वीन्टल गहुँ पनि जलेर नष्ट भएकाले नौ लाख रुपैयाँ बराबरको क्षति भएको घरधनी भगवानदिन यादवले बताए ।
उनले शुक्रबार विहान करिब १ बजेतिर कसैले आएर घरमा आगलागी गरेर फरार भएको जनाउँदै घर गोठ जलेर खरानी भइसकेपछि मात्र आफुहरुले थाहा पाएको र कसले लगाएको भन्ने बारेमा केही थाहा नभएको बताए । आगलागी भएको घरमा बिद्युत नरहेकाले आगलागी आफै नभइ कसैले गरेको आशंका गरिएको यादवले बताए ।
उनले दुध दिने भैंसीहरु जलेर मरेकाले आफ्नो व्यवसाय नै समाप्त भएको दुखेसो गरे । उता, जिल्ला प्रहरी कार्यालय बाँकेले आगलागीको घट्नाबारे जानकारी आउनसाथ प्रहरीले घट्नास्थलमा पुगेर मुचुल्का बनाउनुका साथै सोधपुछ गरेर आगलागीबारे जानकारी लिएको जनाएको छ । घटना कसरी भयो भन्ने बारेमा पनि गहिरिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताए ।
सत्यपाटी