चालु आर्थिक वर्ष २०८२–०८३ को पाँच महिनामा आठ खर्ब ७० अर्ब बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार मङ्सिरसम्ममा आठ खर्ब ७० अर्ब ३१ करोड बढी रेमिट्यान्स नेपाल भित्रिएको हो ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा यो रेमिट्यान्स ३५.६ प्रतिशतले धेरै हो । विदेशमा काम गर्न गएका नेपालीले मङ्सिर महिनामा मात्र एक खर्ब ८३ अर्ब १८ करोड रेमिट्यान्स नेपाल पठाएका छन् । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई छ अर्ब १६ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । त्यस्तै, मङ्सिरसम्ममा खुद द्वितीय आय खुद ट्रान्सफर नौं खर्ब ५४ अर्व ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७०० अर्व ४३ करोड रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६३ हजार ९२४ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ९० हजार ३८४ र एक लाख ३५ हजार ४२५ रहेको थियो ।
सत्यपाटी