२०८२ माघ १ , बिहीबार 16, January 2026, Friday

भेनेजुएलाको तेलमाथि ट्रम्पको नियन्त्रण, तेल बिक्रीको सबै आम्दानी अमेरिकी खातामा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २४ गते बिहीबार

हालै अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई कब्जामा लिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कारबाहीको कारण लागुऔषध तस्करी (ड्रग्स ट्राफिकिङ) भएको दाबी गरेका थिए ।

तर अन्तर्राष्ट्रिय स्तरमा भने यस कारबाहीको मुख्य कारण भेनेजुएलाको तेल भएको चर्चा व्यापक रूपमा चलेको छ । हुन पनि भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो कच्चा तेल भण्डार रहेको छ । राष्ट्रपति मादुरोको गिरफ्तारीपछि भेनेजुएलाका नागरिकहरूले पनि ट्रम्पमाथि सीधा आरोप लगाउँदै भनेका थिए कि अमेरिकालाई उनीहरूको देशको तेलमात्र चाहिएको हो ।

केही दिनपछि राष्ट्रपति ट्रम्पले पनि अप्रत्यक्ष रूपमा यस कुरालाई स्वीकार गरेका थिए । अब अमेरिकाले यस दिशामा ठोस कदम चालेको छ । भेनेजुएलाको कच्चा तेल बिक्रीबाट हुने सम्पूर्ण (१०० प्रतिशत) आम्दानी अमेरिकाले नियन्त्रण गर्ने घोषणा गरिएको छ । यसबाट प्राप्त हुने सबै रकम अमेरिकी बैंक खाताहरूमा जम्मा गरिनेछ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिँदै भनिन् कि अमेरिकी सरकारले भेनेजुएलाको कच्चा तेल तथा त्यसका उत्पादनहरूको बिक्रीबाट आउने सबै आम्दानी आफ्नो नियन्त्रणमा राख्नेछ । प्रेस सचिव लेभिटका अनुसार ती रकमहरू सुरुमा अमेरिका–नियन्त्रित विश्वव्यापी बैंकहरूको खातामा जम्मा गरिनेछ ।

त्यसपछि ती कोषहरू अमेरिकी सरकारको विवेकअनुसार, अमेरिका र भेनेजुएलाका जनताको हितमा खर्च गरिनेछ । यस निर्णयपछि भेनेजुएलाको सार्वभौमिकता, प्राकृतिक स्रोतको स्वामित्व र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनबारे विश्वभर बहस सुरु भएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार