२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

आयात बढ्दा बोरामै ५०० रुपैयाँसम्म सस्तियो चामल

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २४ गते बिहीबार

बजारमा अहिले चामलको मूल्य घटेको छ । अधिकांश खाद्यान्नको मूल्य सामान्य बढेको बेला चामल भने बोरा (२५ केजी) ५०० रुपैयाँसम्म सस्तिएको व्यापारीहरूले बताएका छन् । खुद्रा व्यापार संघका सचिव आमुलकाजी तुलाधरले भर्खरै धान पाक्ने सिजन सकिएको र किसानले धान बिक्री गरिरहेका कारण बजारमा नयाँ चामल प्रशस्त आएकाले मूल्य सस्तो भएको बताए ।

‘बजारमा नयाँ चामल आइसक्यो मूल्य त घटिहाल्छ नि,’ तुलाधरले भने, ‘पुरानो चामलको मूल्य घटेको छैन । नयाँ चामल बोरामा २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म सस्तोमा बिक्री भइरहेको छ ।’ उनका अनुसार अहिले बजारमा नयाँ जिरा मसिनो चामलको भाउ २५ केजी बोराको १६ सयदेखि १८ सयसम्ममा बिक्री भइरहेको छ । मोटा चामलको भाउ पनि घटेको छ । नयाँ सोना मन्सुली चामल २५ केजीको १५ सय ५० रुपैयाँदेखि १६ सय रुपैयाँ छ ।

अघिल्लो वर्ष यसै अवधिमा बजार जिरा मसिनो चामलको मूल्य १९ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म रहेको थियो । यस्तै सोना मन्सुली चामलको मूल्य १६ सय रुपैयाँदेखि १९ सय रुपैयाँसम्म रहेको थियो । तुलाधरका अनुसार अहिले बजारमा पुरानो चामल भने अघिल्लो वर्षकै मूल्य अनुसार बिक्री भइरहेको छ । यस्तै खुद्रा व्यापार संघले पनि पुरानो चामल पुरानै मूल्य अनुसार बिक्री गरिरहेको उनले बताए ।

आयात बढ्दा पनि घट्यो मूल्य

अहिले स्वदेशी उत्पादन बजारमा आउन थालेको र भारतबाट पनि उल्लेख्य मात्रामा धान तथा चामल आयात भएपछि बजारमा भाउ सस्तो भएको व्यवसायीको भनाइ छ । चामल उद्योगीले गत वर्षदेखि नै भारतबाट धान आयात गरी स्टक राखेकाले पनि पर्याप्त मात्रामा धान–चामल उपलब्ध रहेका कारण पनि मूल्य घटेको हुनसक्ने व्यवसायी बताउँछन् ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १५ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ बराबरको धान–चामल आयात भएको छ । अघिल्लो वर्ष २०८१–०८२ को सोही अवधिमा १२ अर्ब ७९ करोड १० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०–०८१ मा ८ अर्ब २८ करोड ८४ लाख रुपैयाँ बराबरको धान–चामल आयात भएको थियो ।

चालु वर्षको मंसिरसम्म आयात भएको धान चामलमध्ये ६ अर्ब ८८ करोड ८१ लाख रुपैयाँ बराबरको धान–चामल आयात भएको छ । ८ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ बराबरको चामल र १८ करोड ७० लाख रुपैयाँ बराबरको कनिका आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०८०–०८१ मा भारतले धान चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएको थियो ।

नेपाल सरकारले धान चामलको आयातमा २.५ प्रतिशत अग्रिम कर लगाएपछि व्यवसायीहरुले चामल आयात घटाएका थिए । यससँगै बजारमा मूल्य बढेको थियो । उपभोक्ताले जिरा मसिनो चामल प्रतिबोरा २५ सय रुपैयाँदेखि २८ सय रुपैयाँसम्ममा खरिद गर्न बाध्य भएका थिए । पछि भारतले शुल्क हटाएपछि आयात बढेसँगै गत वर्ष २०८१–०८२ केही मूल्य घटेको थियो । अघिल्लो वर्षदेखि भारतीय धान चामल आयात बढेको तथ्यांकले देखाएको छ ।

अन्य खाद्यान्नको मूल्य कति छ ?

बजारमा अन्य चामलको मूल्य घटिरहेका बेलामा नयाँ चामलको मूल्य घटिरहँदा बजारमा लङ ग्रेन चामल भने बढ्न थालेको व्यवसायीले बताएका छन् । लङग्रेन चामलको मूल्य भारतबाट बढेर आएकाले व्यवसायीहरुले १०० रुपैयाँदेखि २०० रुपैयाँसम्म बढाएका छन् । यस्तै बजारमा दाल र गेडागुडीको गत वर्षको तुलनामा सामान्य बढेको छ । गत वर्ष १५० रुपैयाँ पर्ने चना दाल अहिले १७० पुगेको छ । यस्तै मुसुरो दाल प्रतिकिलो १६५ रहेकोमा घटेर १५० रुपैयाँ पुगेको छ ।

यस्तै अघिल्लो वर्षको यसै अवधिमा २० प्रतिशतले खाने तेलको मूल्य घटेको थियो । तर अहिले बजारमा खाने तेलको मूल्य लिटरमा २० देखि ३५ रुपैयाँसम्म बढेको देखिन्छ । गत वर्ष प्रतिलिटर ३२५ रुपैयाँ पर्ने काँचो तोरीको तेल अहिले लिटरको ३६० रुपैयाँ पुगेको छ । काँचो तोरिको तेल लिटरमै ३५ रुपैयाँले बढेको छ । सोही अवधिमा भुटेको तोरी तेलको मूल्य लिटरमा २० रुपैयाँ बढेर ४३० रुपैया, भटमास तेल २४५, गत वर्ष २२० रुपैयाँ पर्ने सनफ्लावर तेल २५० पुगेको छ ।

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार