आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पौष २४ गते । बिहीबार । ईश्वी सन् २०२६ जनवरी ८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–पञ्चमी, ८ घडी ४४ पला, बिहान १० बजेर २७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाफाल्गुनी, २३ घडी ४६ पला, बेलुकी ४ बजेर २८ मिनेट उप्रान्त उत्तराफाल्गुनी ।
योग–सौभाग्य, ३६ घडी ४० पला, बेलुकी ९ बजेर ३८ मिनेट उप्रान्त शोभन । करण– तैतिल, बिहान १० बजेर २७ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–गद योग । चन्द्रराशि–सिंह, बेलुकी १० बजेर मिनेट ३९ उप्रान्त कन्या । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २३ मिनेट । दिनमान २६ घडी ४ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ५८ मिनेटसम्म शुभ बेला ।
- बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर १७ मिनेटदेखि बिहान ९ बजेर ३४ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ९ बजेर ३५ मिनेटदेखि बिहान १० बजेर ५२ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर ५३ मिनेटदेखि बिहान १२ बजेर ११ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १२ बजेर १२ मिनेटदेखि दिउँसो १ बजेर २९ मिनेटसम्म अमृत बेला ।
- दिउँसो १ बजेर ३० मिनेटदेखि दिउँसो २ बजेर ४७ मिनेटसम्म काल बेला ।
- दिउँसो २ बजेर ४८ मिनेटदेखि बेलुकी ४ बजेर ५ मिनेटसम्म शुभ बेला ।
- बेलुकी ४ बजेर ६ मिनेटदेखि बेलुकी ७ बजेर ५ मिनेटसम्म अमृत बेला ।
नोट – शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल – दिउँसो १ बजेर २८ मिनेटदेखि दिउँसो २ बजेर ४६ मिनेटसम्म राहुकाल रहनेछ । राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त – बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समय दिन नसक्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । नियमित काम र व्यवसायमा सामान्य लाभ हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन् । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरपर्दा काम बिग्रन सक्छ, सजग रहनुहोला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ । चल–अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ । पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । स्वास्थ्यका लागि खर्च बढ्नेछ । धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ । तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ । लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर समेत दिलाउनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । खर्च हुने डरले सताउन सक्छ । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । अर्थ अभावले पनि काममा बाधा पुग्नेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । ईष्र्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन अनुकूल र निकै लाभदायक रहनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको करकापमा काम गर्न बाध्य भइनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मेहनत गर्दा काम काम सम्पादन हुनेछ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ने समय छ । कुनै बाध्यताले अलमल्याउन सक्छ । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । उचित मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । दोहोर्याएर प्रयत्न गर्दा केही काम बन्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले खर्च भने बढाउन सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ । आफन्तको स्नेह तथा सम्मान प्राप्त हुनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम थालनी हुनेछ । तर अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । अधिकारका लागि सजग रहनुपर्ला । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । काम बिग्रने भयले पनि सताउनेछ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला ।
सत्यपाटी