२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

नेपालमा एक वर्षमै झन्डै चार लाख नयाँ सवारी दर्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २३ गते बुधबार

नेपालमा पछिल्लो एक वर्षको अवधिमा झन्डै चार लाख नयाँ सवारीसाधन दर्ता भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१–०८२ अनुसार आर्थिक वर्ष २०८१–०८२ मा देशभर तीन लाख ७६ हजार ३९३ वटा नयाँ सवारीसाधन दर्ता भएका हुन् ।

राष्ट्र बैंकका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्ष २०८०–०८१ को तुलनामा ३७.८ प्रतिशतले बढी हो । दर्ता भएका सवारीमा कार, जिप, भ्यान, बस, ट्रक, मोटरसाइकल र स्कुटरसहित सबै प्रकारका सवारीसाधन समेटिएका छन् । प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम सवारीसाधन दर्ता भएका छन् ।

सो अवधिमा बागमती प्रदेशमा एक लाख ३५ हजार ८६६ वटा नयाँ सवारी दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३६.१ प्रतिशतले वृद्धि हो । सबैभन्दा कम दर्ता कर्णाली प्रदेशमा भएको छ, जहाँ आर्थिक वर्ष २०८१–०८२ मा तीन हजार ९७७ वटा मात्र नयाँ सवारी दर्ता भए । यस प्रदेशमा सवारी दर्ता अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले मात्र वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सवारी दर्ताको सङ्ख्यामा लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको छ । यहाँ सो अवधिमा ८४ हजार ४६९ वटा नयाँ सवारी दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २२.४ प्रतिशतले बढी हो । त्यसैगरी, मधेश प्रदेशमा ६८ हजार २५९ वटा सवारी दर्ता भएका छन्, जहाँ दर्ता संख्या १८.१ प्रतिशतले वृद्धि भएको छ ।

कोशी प्रदेशमा ५१ हजार १३४ वटा (१३.६ प्रतिशत वृद्धि), गण्डकी प्रदेशमा १७ हजार ९६७ वटा (४.८ प्रतिशत वृद्धि) र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२१ वटा नयाँ सवारीसाधन दर्ता भएका छन्, जहाँ वृद्धि दर ३.९ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधिमा सुधार, उपभोक्ता माग बढ्नु र सवारी आयातमा सहजताले पछिल्लो वर्ष सवारी दर्तामा उल्लेख्य वृद्धि देखिएको हो ।

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार