नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत गैरव्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरी कर्मचारीहरूलाई कारवाही गरिएको छ ।
आर्थिक वर्ष २०७७–०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवं प्रहरी पोसाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारवाही गरिएको हो ।
कारवाही पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक एक जना, प्रहरी वरिष्ठ उपरीक्षक एक जना, प्रहरी उपरीक्षक चार जना, प्रहरी नायब उपरीक्षक पाँच जना, प्रहरी निरीक्षक २४ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ११ जना, प्रहरी नायब निरीक्षक २४ जना, प्रहरी सहायक निरीक्षक ५१ जना, प्रहरी वरिष्ठ हवल्दार सात जना, प्रहरी हवल्दार ३५ जना, सहायक हवल्दार ७६ जना, प्रहरी जवान ३५८ जना र प्रहरी कार्यालय सहयोगी दुई जना रहेका छन् ।
उनीहरूलाई संगठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारवाही गरिएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१–०९–११ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने सम्बन्धी गाइडलाइन लागू गरेको छ ।
नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ एवम् प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरूमा समेत प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा गैरव्यावसायिक र अमर्यादित आचरण प्रदर्शन हुने गरी हातहतियार, पोसाक, सवारीसाधन लगायत प्रहरी गतिविधिका भिडियो तथा फोटो अपलोड गर्न, टीकाटिप्पणी गर्न बन्देज गरिएको छ ।
सामाजिक सञ्जालको प्रयोग गर्दा प्रहरी कर्मचारीहरूले गोपनीयता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक गतिविधि लगायतमा खलल पुग्ने जस्ता कुनै पनि सामग्री पोष्ट, शेयर, लाइक या टिप्पणी गर्न हुँदैन । पछिल्लो समय नेपाल प्रहरीको सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति विपरीतका सामग्री हटाउन र कारवाहीको दायरामा ल्याउने कार्यलाई नेपाल प्रहरीले तीब्र बनाएको छ ।
सत्यपाटी