सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरुवानीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५७ वर्षीया गंगा सारु रहेकी छन् ।
मंगलबार बिहान घरबाट निस्किएकी सारुको शव बुधबार बिहान घर नजिकैको जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान करिब ९ बजेतिर मृतकका दुई नातिनी बाख्राका लागि घाँस काट्न सालघारीमा गएका बेला हजुरआमाको चप्पल, कपडा र रगत लतपतिएको देखेका थिए । लगत्तै स्थानीयले अस्थायी प्रहरी पोस्ट बबईलाई खबर गरेका थिए ।
खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको टोली घटनास्थल पुगेको थियो । टोलीले कपडा र चप्पल भेटिएको स्थानबाट करिब ६ सय मिटर पूर्वतर्फ महिलाको टाउको फेला पारेको थियो ।
टाउको भेटिएको स्थानभन्दा ३०० मिटर अगाडि शरीरको बायाँ खुट्टा, बायाँ हात र कम्मरको भागको मासु खाएको अवस्थामा शवका टुक्राहरू फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सत्यपाटी