२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

सावित्राको घुँडामा गम्भीर चोट, गुमाउँदै सिजनका सबै खेल

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २३ गते बुधबार

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ घाइते भएकी छन् । उनी अस्ट्रेलियाको निन्जा ए–लिगमा ब्रिसबेन रोअरविरुद्धको खेलमा गोलकिपरसँग ठोक्किँदा घाइते भएकी हुन् ।

सावित्राको घुँडामा गम्भीर चोट लागेको बताइएको छ । एमआरआई रिपोर्टअनुसार उनको दाहिने घुँडाको ‘एसिएल’ पूर्णरूपमा च्यातिएको छ । चोट निको हुन र पुनः मैदानमा फर्कन सावित्रालाई ९ देखि १२ महिना लाग्नेछ ।

वेलिङ्टन फोनिक्समा आबद्ध साम्बाले जारी सिजनमा सानदार प्रदर्शन गरिरहेकी थिइन् । र, उनले तीन गोल गरिसकेकी छन् । सावित्राले यो सिजनको निन्जा ए–लिग गुमाउने भएपछि टिमलाई ठूलो घाटा लाग्ने देखिन्छ ।

वेलिङ्टन टोलीकी मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानले भनेकी छन्, ‘साम्बा हाम्रो टोलीको सबैभन्दा मनपर्ने र लोकप्रिय खेलाडी हुन् । उनको चोटले हामीलाई पीडा दिएको छ । तर, उनले खेल्ने इच्छाशक्ति अझै कायम छ । र, सावित्रा चाँडै मैदानमा फर्किन चाहन्छिन् ।’

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार