हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा त्यसको प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सफा रहने भए पनि तराईमा भने चिसो र हुस्सुको प्रकोप बढेको छ ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ । तराईका अधिकांश स्थानहरूमा भने बाक्लो हुस्सु र कुहिरो लाग्ने हुनाले दैनिक जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।
साथै, कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदलीकै अवस्था रहनेछ भने तराईका धेरैजसो स्थानमा हुस्सु र कुहिरो कायमै रहनेछ ।
महाशाखाले काठमाडौँ उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको जनाएको छ । आज बिहानको मापन अनुसार काठमाडौँ उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ, जसका कारण जनजीवन प्रभावित बनेको छ । विभागको अद्यावधिक विवरण अनुसार काठमाडौँको कीर्तिपुरमा आज बिहानको तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको छ ।
उपत्यकाका अन्य क्षेत्रमा पनि चिसोको असर उस्तै छ । ललितपुरको खुमलटार र भक्तपुरको नगरकोटमा समान २.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ भने सिन्धुपाल्चोकको चौतारामा न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । हिमाली भेगको जनजीवन झन् कष्टकर बनेको छ ।
लुक्ला विमानस्थलको तापक्रम शून्यभन्दा तल अर्थात् माइनस ०.५ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै, जुम्ला विमानस्थलमा माइनस ५.९ डिग्री र हुम्लाको सिमकोट विमानस्थलमा माइनस ५.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
देशभर पश्चिमी वायुको प्रभाव र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भएको हिमपातका कारण चिसो बढेको मौसमविद्हरूको भनाइ छ । महाशाखाले चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
सत्यपाटी