रोल्पामा जीप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ । घटनामा अरु नौं जना विद्यार्थी घाइते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । शनिबार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर फर्किँदै गरेका विद्यार्थी सवार ग १ ज ६६६६ नम्बरको बोलेरो जीप शनिबार राति १० बजेतिर दुर्घटनामा परेको हो ।
सुनछहरी गाउँपालिका–१ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर सुनछहारी–४ स्युरीतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर सुनिल थापा नेपालीले जानकारी दिए । मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल बिक रहेका छन् ।
‘घटनास्थलबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृतक घोषणा गरेका हुन्,’ इन्स्पेक्टर नेपालीले भने, ‘घाइते नौ जना घाइतेलाई थप उपचारको लागि बुटवल सिटी अस्पताल लगिएको छ ।’ दुर्घटनापछि प्रहरीले जीप चालक रोल्पाकै लुंग्री गाउँपालिका–७ का २५ वर्षीय मन्सुर घर्तीलाई पक्राउ गरेको छ ।
सत्यपाटी