२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

बाँकेका थारु गाउँबस्तीमा माघीको रौनक

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस २० गते आइतबार

बाँकेका अधिकांश थारु गाउँ बस्तीमा माघी पर्वको तयारी तीव्र पारिएको छ । माघी आउन १० दिन मात्र बाँकी रहेकाले जिल्लाका अधिकांश गाउँबस्तीमा माघीको रौनक बढ्दै गएको हो ।

जिल्लाका अधिकांश गाउँबस्तीमा थारु पुरुष मासुका लागि सुँगुर खरिददेखि अन्य विभिन्न तयारीमा व्यस्त छन् भने महिलाहरु रोटी पकाउने तथा पिठोको तयारीदेखि लिएर दुना टपरी खुट्नमा व्यस्त रहेका छन् ।

थारु महिला पुरुषलाई अहिले गाउँ बस्तीमा माघीका लागि आवश्यक माछा मार्ने लगायत कामको पनि चटारो छ । माघीअघि नै सुँगुर ल्याएर राख्ने, रोटी पकाउने लगायतका काम गरिसक्नुपर्ने हुँदा त्यसैमा व्यस्त रहेको बाँके मैटहवाका थारु अगुवा राजेन्द्र चौधरीले बताए ।

उनले भने, ‘आफूहरुको संस्कृति अनुसार सुँगुर मार्ने काम माघी आउन दुई तीन दिन बाँकी छँदा गरिने हुँदा त्यसका लागि तयारी भएरहेको छ भने माछा मार्नेदेखि लिएर रोटी पकाउने लगायतका काम पनि सुरु भइसकेको छ ।’

बाँके फत्तेपुरका अगुवा जनक चौधरीका अनुसार गाउँघरमा अहिले माघीकै लागि सुँगुर घरघरमा बाँधेका देखिन थालेका छन् भने महिलाहरु दुना टपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्छन् ।

महिलाहरुले माघीमा जाँड र मासु खानका लागि दुना टपरी बनाउन लागेको बताएका छन् । बाँके विनौनाका दिपा चौधरीले माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्न लागेको बताए ।

यस्तै, टिटिहिरियाकी आशा चौधरी माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त छिन् । परिवारका सदस्यहरुसँगै बसेर दुनाटपरी बनाउनमै व्यस्त रहेका आशाले माघीमा खानेकुरा दुनाटपरीमै राखेर दिने चलन रहेको बताइन् । उनले एक महिना अगाडिदेखि नै पात र दाउराको जोहो गर्न थालेको बताइन् ।

मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गरेका टिटिहिरियाकी अर्की युवती रश्मी चौधरीले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिकरी भने माघी आउन एक दिन बाँकी रहँदा मात्र बनाउने बताए ।

अधिकांश महिलाले चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसकेको जनाएका छन् । थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठुलो पर्वको रूपमा लिइन्छ ।

प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार