पुस महिना लागेपछि देशभर तापक्रम घट्दो क्रममा रहेकामा शनिबार थप घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ । आज देशका विभिन्न क्षेत्रमा न्यूनतम तापक्रम घटेको विभागले जनाएको छ ।
विभागका अनुसार काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीमा झरेको छ । यो तापक्रम यो वर्षकै कम हो । पुस ८ गते काठमाडौँको तापक्रम चार दशमलव नौ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्रीमा झरेको थियो ।
पुस १७ गते तापक्रम घटेर चार दशमलव छ डिग्रीमा आएकामा आज भने चार दशमलव पाँच डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । विभागमा आज राति अभिलेख गरिएको तापक्रमको विवरण अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव नौ डिग्री र मुस्ताङको जोमसोममा माइनस चार दशमलव पाँच डिग्री छ । त्यस क्षेत्रमा खोलासमेत जमिरहेका छन् ।
अन्य जिलाहरूमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको विभागले जनाएको छ । सूचना अधिकारी कायस्थका अनुसार न्यूनतम तापक्रम डडेलधुरामा दुई दशमलव सात, दिपायलमा छ, वीरेन्द्रनगरमा पाँच, घोराहीमा आठ, पोखरामा आठ दशमलव पाँच, सिमरामा आठ दशमलव तीन, ओखलढुङ्गामा चार दशमलव नौ, जिरीमा शून्य दशमलव दुई, ताप्लेजुङमा पाँच दशमलव आठ, लुम्लेमा चार दशमलव पाँच र धनकुटामा सात डिग्री रहेको छ ।
कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने बताए । उनका अनुसार हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात भइरहेको छ । विभागले आज राति सार्वजनिक गरेको मौसम बुलेटिनमा देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको जनाइएको छ । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको साथै तराई भू–भागमा हुस्सु तथा कुहिरोको समेत सम्भावना रहेको छ । त्यसकारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
सत्यपाटी