२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

बुद्ध एयरको जहाज दुर्घटनापछि भद्रपुर विमानस्थलको रनवे घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १९ गते शनिबार

भद्रपुर विमानस्थलमा शुक्रवार राती बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ । विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रनवे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल एक हजार ५०० मिटरको रनवे घटाएर एक हजार ४०० मिटरमा विमान सञ्चालन भइरहेको छ ।

रनवे छोट्याएर विमानस्थल सञ्चालन गरिएकोले त्यसको बारेमा जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको उनले जानकारी दिए । हाल प्रयोगमा रहेको एक हजार ४०० मिटर रनवे जहाज सञ्चालनको लागि पर्याप्त रहेको उनको भनाई छ । उनले विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको बताए । उनका अनुसार शुक्रवार राती ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो ।

मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको उनले बताए । प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने उल्लेख गर्दै उनले अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने जानकारी दिए । उनले भने ‘विमानस्थलको दुर्घटना ठ्याक्कै यही कारणले भएको भन्ने अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।’ उनका अनुसार तत्काल हेर्दा विमान दुर्घटना हिजो मौसमको कारणले नभई प्राविधिक कुराहरू प्राविधिकको अनुसन्धानपछि थाहा हुनेछ ।

‘हाम्रो साइडबाट हेर्दा हामीले मौसमहरू हेर्ने हो । मौसम त्यतिखेर यो अवस्थामा आउने (दुर्घटना हुने) थिएन,’ विमानस्थल प्रमुख खत्रीले भने, ‘त्यसमा केही प्राविधिक कुरा हुन सक्छ । अहिले विमानस्थल चालु छ, विमानस्थल चालु हुनलाई थोरै रिक्वारमेन्ट चाहिन्छ, हामीले हाम्रो यो जहाजको पछाडिको हाइट चाही अफ–ट्रयाकल पर्न जान्छ ।’ उनका अनुसार यसलाई मिलाउन रनवेलाई अलिकति छोटो बनाइएको छ ।

‘त्यो हामी पाइलटलाई जानकारी गराउँछौँ । प्रत्येक आउने, जाने जहाजलाई भन्छौँ हामी । १५ सय मिटर हो, यो,’ विमानस्थल प्रमुख खत्रीले भने, ‘अहिले एक हजार ४०० मिटरमा विमानस्थल सञ्चालनमा आएको छ । विमानस्थल प्रमुख खत्रीले भने, ‘एक हजार ४०० मिटर उनीहरूलाई सफिसेन्ट हुन्छ, भनेर चलाइरहेका छौँ ।’ दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने कार्य भइरहेको उनले बताए ।

काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो । उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । जहाज दुर्घटना भएको आवाज सुनेपछि स्थानीयहरूले यात्रुको उद्धार गरेको भद्रपुरका स्थानीय मित्रप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार तीन जना यात्रु भने विमानभित्र थिए । दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जना यात्रुहरू भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार