बढुवा नियुक्ति पाएका प्रहरी सहायक हवल्दारदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मका प्रहरी कर्मचारीहरूले अब तोकिएको दरबन्दीमा हाजिर भएपछि मात्रै दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको निर्देशन अनुसार बढुवा भएपछि पदस्थापन भई तोकिएको कार्यालयमा हाजिर नगरी पुरानै कार्यालयमा कामकाज गर्ने प्रवृत्तिका कारण जनशक्ति व्यवस्थापनमा समस्या देखिएको भन्दै अब यस्तो व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको हो ।
यसअघि कार्यरत कार्यालयबाटै दज्र्यानी चिन्ह सुशोभन गरिएपछि कतिपय प्रहरी कर्मचारीहरू नयाँ पदस्थापन भएको कार्यालयमा समयमै हाजिर नहुने गरेको पाइएको थियो । यसले प्रहरी संगठनको दैनिक कार्य सञ्चालन र जनशक्ति परिचालनमा प्रत्यक्ष असर परेको जनाइएको छ ।
त्यसैले अब उप्रान्त बढुवा भई दरबन्दी कायम भएका प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयमा हाजिर भएको पुष्टि भएपछि मात्रै त्यही कार्यालयका तोकिएका प्रहरी अधिकृतमार्फत दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम गरिने भएको छ । सो व्यवस्था कार्यान्वयनका लागि सबै प्रहरी कार्यालयहरूलाई परिपत्र गरिएको जनाइएको छ ।
सत्यपाटी