२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

हवाइजहाजको भाडादर समायोजन, कुन रुटमा कति मूल्य घट्यो ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १८ गते शुक्रबार

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक उडानतर्फको इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको छ । हवाई इन्धनको मूल्यमा घटेपछि प्राधिकरणले यस्तो सरचार्ज समायोजन गरेको हो । नेपाल आयल निगमले बुधबार हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ कटौती गरेको थियो ।

यसको आधारमा प्राधिकरणले शुक्रबार नयाँ इन्धन शुल्क निर्धारण गरेको हो । योसँगै हवाई जहाजको अधिकतम भाडादर घटेको छ । प्राधिकरणका अनुसार ट्रंक रुटका लागि प्रतिमिनेट ६८.०९ रुपैयाँ र दुर्गम क्षेत्रका लागि प्रतिमिनेट ४८.६४ रुपैयाँ इन्धन शुल्क कायम गरिएको छ ।

कुन रुटमा कति घट्यो भाडा ?

नयाँ भाडा दर अनुसार काठमाडौँबाट हुने उडानमा सबैभन्दा धेरै धनगढी रुटमा २६५ रुपैयाँले शुल्क घटेको छ भने सबैभन्दा कम सिमरा रुटमा ५५ रुपैयाँले घटेको छ । काठमाडौँबाट उडान भर्ने रुटमा देहाय बमोजिमको सरचार्ज शुल्क घटेको छ ।

उल्लेखित बाहेक माउन्टेन फ्लाइटमा २१० रुपैयाँ, काठमाडौँ–लुक्ला ८० रुपैयाँ, काठमाडौँ–जोमसोम १२० रुपैयाँ, काठमाडौँ–फाप्लु ७० रुपैयाँ, काठमाडौँ–जुम्ला १९० रुपैयाँ, नेपालगन्ज–सिमिकोट १२० रुपैयाँ फ्युल सरचार्जबापत समायोजन भएको छ ।

तत्काल भाडादरमा पर्दैन असर

प्राधिकरणले सरचार्ज बापतको शुल्क घटाए पनि यसको प्रत्यक्ष असर भने पर्ने छैन । अहिले एयरलाइन्स कम्पनीहरूले लिँदै आएको भाडादर अधिकतम भाडादरभन्दा निकै तल हुन्छ । उदाहरणको लागि काठमाडौँबाट धनगढीको अधिकतम भाडा १७ हजार रुपैयाँभन्दा माथि छ ।

तर अहिले सो रूपमा ८ हजार रुपैयाँ हाराहारी मात्रै लाग्ने गरेको छ । त्यसैले यसले प्रत्यक्ष रूपमा प्रभाव नपरे पनि हवाई ट्राफिक बढी हुने समयमा भने यसले मूल्यको सीमा कायम गर्न सक्छ ।

प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार