२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो

जुनु भट्टराईजुनु भट्टराई । विराटनगर । २०८२ पुस १७ गते बिहीबार

कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक सीप परीक्षण गराउनेहरूमा पुरुषको तुलनामा महिलाको सङ्ख्या उल्लेख्य देखिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा स्वीस कन्ट्याक्टको सहयोगमा सार्वजनिक गरिएको ‘टिभेट प्रोफाइल’अनुसार सीप परीक्षणमा महिलाको सहभागिता ५३.९ प्रतिशत पुगेको छ ।

कोशी प्रदेशको प्रादेशिक प्रबोधिकरण कार्यक्रममा प्रस्तुत गरिएको पछिल्लो तथ्याङ्कअनुसार कुल ४७ हजार ९५८ सहभागीमध्ये २५ हजार ८३३ महिला छन् भने पुरुषको सङ्ख्या २२ हजार १२० अर्थात् ४६.१ प्रतिशत मात्र सीमित छ । यसले परम्परागत रूपमा पुरुषको क्षेत्र मानिने प्राविधिक विधामा महिलाको बढ्दो आकर्षण र सक्रियतालाई स्पष्ट पारेको छ ।

कोशी प्रदेशका युवाले सबैभन्दा बढी अटोमोबाइल क्षेत्रमा १८.१ प्रतिशत सहभागिता जनाएका छन् । यसैगरी फोटोग्राफीमा १६.४ प्रतिशत, व्यापार व्यवसायमा १२.४ प्रतिशत र आतिथ्य उद्योग (हस्पिटालिटी)मा ११.८ प्रतिशतको संलग्नता देखिएको छ । टेक्सटाइल र सिलाइ बुनाइजस्ता क्षेत्रमा पनि सहभागिता उत्साहजनक देखिए तापनि पुस्तकालय र सूचना विज्ञान, हस्तकला र निर्माणजस्ता क्षेत्रमा भने युवाको रुचि निकै कम देखिएको प्रतिवेदनमा उल्लेख छ ।

तथ्याङ्कले देखाएअनुसार ९० प्रतिशतभन्दा बढी सहभागीले तह एकको मात्र सीप परीक्षण गराएका छन् । विशेषगरी स्वदेश तथा विदेशमा रोजगारीका लागि न्यूनतम प्रमाणपत्र अनिवार्य हुने भएपछि युवा प्रारम्भिक तहको परीक्षणमा बढी केन्द्रित भएका हुन् । उत्तीर्ण प्रतिशतको अवस्थालाई हेर्दा समग्रमा ६१ प्रतिशत परीक्षार्थी सफल भएका छन् । यद्यपि तह एकमा ६३ प्रतिशत उत्तीर्ण हुँदा माथिल्लो तहमा भने यो दर क्रमशःघट्दै गएको देखिन्छ ।

तह दुईमा ४० प्रतिशत र तह तीनमा पुग्दा उत्तीर्ण दर १७ प्रतिशतमा खुम्चिनुले उच्च तहको सीप र क्षमता विकासमा अझैँ मेहनत गर्नुपर्ने चुनौतीलाई उजागर गरेको छ । मन्त्रालय र स्वीस कन्ट्याक्टको यो सहकार्यले कोशी प्रदेशमा दक्ष जनशक्तिको वास्तविक अवस्थालाई बाहिर ल्याएको पहिलो दस्तावेज भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले जानकारी दिए ।

सीप परीक्षणमा महिलाको यो उत्साहजनक सहभागिताले आगामी दिनमा प्रदेशको श्रम बजारमा दक्ष महिला जनशक्तिको उपस्थिति बलियो हुने र उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए । छोटो अवधिको व्यावसायिक तालिम प्रदायक संस्थाको विस्तार भने कोशी प्रदेशमा उत्साहजनक छ । हाल प्रदेशभर २१५ वटा संस्थाले छोटो अवधिको तालिम प्रदान गर्न सम्बन्धन प्राप्त गरेका छन् । जिल्लागत रूपमा हेर्दा मोरङमा सबैभन्दा बढी ६४ वटा र झापामा ४४ संस्था रहेका छन् भने सुनसरीमा ७२ वटासम्म संस्थाले स्वीकृति पाएका छन् ।

यी संस्थाले प्रति संस्था औसत ६.३० का दरले विभिन्न एक हजार ३५४ वटा स्वीकृत कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले बजारको मागअनुसार १८० घण्टादेखि १ हजार ६९६ घण्टासम्मका कुल २७४ वटा व्यावसायिक तालिमका पाठ्यक्रम निर्माण गरेको छ । यस्तै, राष्ट्रिय सीप परीक्षण समितिले ३१४ वटा राष्ट्रिय व्यावसायिक सीप प्रमाणिकरणको मापदण्ड तयार गरी सीप परीक्षणकाकार्य अघि बढाएको छ । समग्रमा, सीप परीक्षणमा महिलाको बढ्दो सहभागिता र तालिम केन्द्रको बढ्दो सङ्ख्या सकारात्मक पक्ष हुन् ।

प्राविधिक धारमा घट्दो सङ्ख्या

कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्र विस्तार देखिए पनि अर्कोतर्फ शैक्षिक निरन्तरतामा भने गम्भीर चुनौती देखिएको छ । सार्वजनिक गरिएको तथ्याङ्क अनुसार प्राविधिक धारतर्फ विद्यार्थीको भर्ना दर कक्षा बढ्दै जाँदा कमजोर हुँदै गएको पाइएको हो । प्राविधिक धार अन्तर्गत कक्षा ९ मा विद्यार्थीको भर्ना दर ५९ प्रतिशत रहेको पाइएको छ । तर, यो उत्साह माथिल्लो कक्षामा पुग्दा टिकिरहन सकेको छैन ।

तथ्याङ्क अनुसार कक्षा १० मा ५४ प्रतिशत, कक्षा ११ मा ३५ प्रतिशत हुँदै कक्षा १२ मा पुग्दा यो दर घटेर मात्र ३४ प्रतिशतमा सीमित भएको छ । यसले प्राविधिक शिक्षा सुरु गरेका उल्लेख्य सङ्ख्याका विद्यार्थीले बीचैमा पढाइ छोड्ने गरेको तथ्याङ्कमा देखिन्छ । यसले प्राविधिक धारका शैक्षिक संस्था मर्ज गर्नु पर्नु अवस्थामा पुगेको प्रतिवेदनले स्पष्ट पारेको छ ।

माथिल्लो शैक्षिक तहमा विद्यार्थीको घट्दो उपस्थिति र सीप परीक्षणमा तह एकभन्दा माथिल्लो तहमा देखिएको न्यून उत्तीर्ण दरले प्राविधिक शिक्षाको गुणस्तर र स्थायित्वमा अझैँ धेरै काम गर्न बाँकी रहेको देखाएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुयलले बताए । दक्ष जनशक्ति उत्पादनका लागि केवल सङ्ख्यात्मक विस्तारमा मात्र नभई विद्यार्थीलाई माथिल्लो तहमा समयोजनका कार्यक्रम अघि सार्नुपर्ने देखिएको बताए ।

आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले सिटिइभिटीद्वारा सञ्चालित प्राविधिक धार सञ्चालनमा चुनौति रहेको बताए । सिटिइभिटीले २४ विद्यार्थी पुगेपछि मात्रै कोर्स सकाउन सात लाख दिने गरेको छ, यो असाध्यै कम हुने बताए । उनले अहिलेको प्राविधिक धारको पाठ्यक्रम पनि ठिक नभएको गुनासो गरे ।

साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले प्राविधिक धार लामो भएको बताए । प्रधानाध्यापक काफ्लेले पाठ्यक्रममा नै समस्या भएको कारण सुरु सुरुमा सिभिलमा १२० आउनेमा अहिले घटेर ४८ जनाको कोटा रहेकामा अहिले आधा विद्यार्थी पनि भर्नाको लागि नआएको बताए ।

स्रोत : रासस
प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार