सन् २०२५ क्रिकेटका लागि असाधारण वर्ष रह्यो । पुरुषदेखि महिला अनि टेस्ट र वान डे देखि टी–२० अन्तर्राष्ट्रिय तथा घरेलु लिगसम्म क्रिकेटले अनौठा संयोग, अकल्पनीय कीर्तिमान र आँकडाले भरिएका क्षणहरू दियो ।
सन् २०२५ मा दक्षिण अफ्रिकाले २७ वर्षपछि पहिलोपटक आइसीसीको कुनै उपाधि जित्यो भने रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षको इतिहासमा पहिलोपटक आईपीएलको उपाधि जित्यो ।त्यस्तै क्रिकेट इतिहासमा पहिलोपटक टी–२० मा ८ विकेट अनि एकै ओभरमा ५ विकेटजस्ता दुर्लभ कीर्तिमान पनि बने ।
भारतका १४ वर्षीय ब्याटर वेभव सूर्यवंशीले छक्काको वर्षात् गर्दै सानै उमेरमा शतक बनाउने कीर्तिमान समेत बनाए । यस्तै अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एसेज टेस्ट सिरिज जित्ने टोलीको ११ दिनमै टुंगो लाग्यो । ११ दिनमै टेस्ट शृंखला अस्ट्रेलियाले जित्यो । यिनै रोचक विषयहरूलाई समावेश गरेर वर्ष २०२५ लाई परिभाषित गर्ने २५ महत्वपूर्ण अनि रोचक तथ्यहरू आज प्रस्तुत गरेका छौं,
१. भारतको दुर्भाग्यपूर्ण टस रेकर्ड – भारतले लगातार २० वटा वान डे टस हारेको तथ्यांक सन् २०२५ को सबैभन्दा अनौठो संयोग बन्यो । २०२३ विश्वकप फाइनलबाट सुरु भएको यो सिलसिला वर्षको अन्तिम वानडेमा पुगेर मात्र रोकियो । यसको सम्भावना १० लाख ४८ हजार ५७६ पटकमा एकपटक मात्र हुन्छ ।
२. एसेजका टेस्ट दुई दिनमै समाप्त – अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एसेज २०२५–२६ का दुई टेस्ट खेल दुई दिनमै सकिए, जुन पहिलो विश्वयुद्धपछि पहिलो पटक भएको हो । यसअघि यस्तो घटना सन् १९१२ मा मात्र देखिएको थियो ।
३. हार्दैहार्दै पनि भारत महिला विश्व विजेता – भारतीय महिला क्रिकेट टोलीले ३ खेल हारे पनि विश्वकप जितेर इतिहास बनायो। महिला विश्वकपमा यस्तो पहिलो पटक भएको हो ।
४. चेन्नई सुपर किङ्सको युवा रणनीतिमा परिवर्तन – चेन्नई सुपर किंग्सले एक खेलमा २२ वर्षमुनिका ४ खेलाडी उतार्यो, जुन क्लब इतिहासमै सबैभन्दा धेरै हो । अनुभवमै विश्वास गर्ने टोली अब युवातर्फ मोडिएको संकेत हो ।
५. एक ओभर, पाँच विकेट – इन्डोनेसियाका गेदे प्रियन्दानाले टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ५ विकेट लिएर क्रिकेट इतिहासमै पहिलो पटक यो कीर्तिमान कायम गरे ।
६. ६ रनको रोमाञ्चक टेस्ट जित – भारतले इंग्ल्यान्डसँग भएको टेस्ट शृंखलाअन्तर्गत पहिलो खेलमा ६ रनको जित निकालेको थियो । भारतका लागि टेस्ट क्रिकेटमा यो सबैभन्दा साँघुरो जित हो, त्यो पनि ३०० भन्दा बढी रनको लक्ष्य जोगाउने क्रममा जितेको थियो ।
७. ७ खेल हारेर पनि च्याम्पियन – अमेरिकी मेजर लिग क्रिकेटमा एमआई न्युयोर्कले १० मध्ये ७ खेल हारेर पनि उपाधि जित्यो, जुन टी–२० इतिहासमै दुर्लभ सफलता हो ।
८. टी–२० मा ८ विकेट – भुटानका सोनाम येशेले एकै टी–२० खेलमा ८ विकेट लिएर कुनै पनि टी–२० क्रिकेटमा दुर्लभ हुने कीर्तिमान कायम गरे ।
९. आरसिबीको बाहिरी मैदानमा दबदबा – रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ मा बाहिरी मैदानमा खेलेका सबै ९ खेल जित्यो, यो उपलब्धि यसअघि कुनै टोलीले हासिल गरेको थिएन ।
१०. दक्षिण अफ्रिकाको स्वर्णिम टेस्ट यात्रा – दक्षिण अफ्रिकाले लगातार १० टेस्ट जित्दै विश्व टेस्ट च्याम्पियनसिपको फाइनल समेत जित्यो ।
११. सबैभन्दा छिटो एसेज सिरिज जित – अस्ट्रेलियाले ११ दिनमै एसेज शृंखला जित्यो, जुन इतिहासकै दोस्रो छिटो हो ।
१२. १२ वर्षपछि घरेलु मैदानमा विराट – विराट कोहलीले १२ वर्षभन्दा बढी समयपछि दिल्लीका लागि लिस्ट–ए क्रिकेट खेले, जुन आफैंमा ऐतिहासिक थियो ।
१३. शाई होपको अनौठो कीर्तिमान – वेस्ट इन्डिजका ब्याटर शाई होप १३ फरक टोलीविरुद्ध शतक बनाउने पहिलो ब्याटर बने ।
१४. १४ वर्षमै शतक – भारतका १४ वर्षीय ब्याटर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै लिस्ट–ए शतक बनाउँदै इतिहास रचे ।
१५. इटाली विश्वकपमा – इटालीले आगामी टी–२० विश्वकप २०२६ मा स्थान पक्का गर्यो । विश्वकप खेल्ने १५औं एसोसिएट राष्ट्र बन्यो ।
१६. घरेलु टेस्टमा भारतको पतन – भारतले दक्षिण अफ्रिकाविरुद्ध प्रति विकेट औसत १६ रन मात्र बनायो, जुन घरेलु टेस्ट इतिहासकै खराब प्रदर्शन हो ।
१७. भारतको टी–२० अपराजेयता – भारतको पुरुष क्रिकेट टोलीले २०२३ यता खेलेका १७ वटै टी–२०आई खेल जितेको छ ।
१८. धोनीबिनाको दोस्रो आईपीएल फाइनल – आइपीएलका १८ संस्करणपछि पहिलो पटक लगातार दुई आइपीएल फाइनल चेन्नई सुपर किङ्सका लेजेन्ड एमएस धोनीबिना नै सम्पन्न भए ।
१९. १९ छक्काको आँधी – न्युजिल्यान्डका ब्याटर फिन एलेनले एक टी–२० खेलमा १९ छक्का प्रहार गरेर नयाँ विश्व कीर्तिमान कायम गरे ।
२०. स्पेनको अविश्वसनीय जित शृंखला – स्पेनले टी–२० अन्तर्राष्ट्रियमा लगातार २० खेल जित्दै विश्व क्रिकेटलाई चकित पार्यो ।
२१. शेफाली वर्माको पुनरागमन कथा – २१ वर्षको उमेरमै महिला विश्वकप फाइनलको प्लेयर अफ द म्याच जित्दै शेफाली वर्माले अविस्मरणीय पुनरागमन गरिन् ।
२२. इंग्ल्यान्डको कमजोर ओपनिङ – एसेज सिरिजमा इंग्ल्यान्डको ओपनिङ जोडी औसत २२ बलमै आउट भयो, यो इंग्ल्यान्डका लागि सबैभन्दा खराब आँकडा हो ।
२३. मिचेल स्टार्कको विनाश – अस्ट्रेलियाका बाँयाहाते पेस बलर मिचेल स्टार्कले २०२५ मा २३ इनिङमा आफ्नो पहिलो ओभरमै विकेट प्राप्त गरे ।
२४. जैसवालको ऐतिहासिक सुरुवात – भारतका बाँयाहाते ओपनिङ ब्याटर यशस्वी जैसवालले २४ वर्षको उमेरअघि नै टेस्टमा ५ पटक १५० भन्दा माथिको स्कोर बनाएर यो रेकर्ड बनाउने दोस्रो खेलाडी बने । पहिलो स्थानमा अस्ट्रेलियाका लेजेन्डरी टेस्ट ब्याटर सर डोनाल्ड ब्राडम्यान छन् ।
२५. महिला वानडेमा रनको वर्षा – सन् २०२५ मा महिलाका वानडे खेलहरूमा २५ पटक ३०० भन्दा माथिको योगफल बने ।
– क्रिकबजले तयार पारेको सामग्रीको आधारमा
सत्यपाटी