२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १७ गते बिहीबार

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । निगमको पछिल्लो निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य कम गरिएको हो ।

आन्तरिकतर्फको हवाइ इन्धनमा निगमले प्रतिलिटर ६ रुपैयाँले कटौती गरेको छ । बिहिवार बिहान देखि घटेको नयाँ मूल्य लागु हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो।मूल्य समायोजनसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल–मट्टितेलको १३७ रुपैयाँ कायम हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको फेरबदलका कारण नेपाली बजारमा उपभोक्तालाई राहत दिन यो कदम चालिएको निगमले जनाएको छ ।

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एलपीजी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार