नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ खजुरा बजारस्थित पेडारी नालामा चार लेनको पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले एक महिनाभित्र नयाँ पुलबाटै सवारी साधन सञ्चालन हुने गरी निर्माण कार्य तीव्ररुपमा अघि बढेको जानकारी दिए ।
योजना प्रमुख भण्डारीले भने, ‘खजुराबासीले भोगिरहेको लामो समयदेखिको सास्ती अबको केही समयमै अन्त्य हुनेछ, निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्ने गरी काम अघि बढाएको छ ।’ नारायणम निर्माण सेवासँग २०८३ बैशाख १८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटसहित आठ करोड ९६ लाख रुपैयाँमा ठेक्का लिएको भए पनि तोकिएको समय अगावै काम सम्पन्न हुने देखिएको छ ।
खजुरामा चार लेन सडक भए पनि बर्षौ पहिले निर्माण भएको साँघुरो र जीर्ण पुलका कारण सानो बर्षातमा समेत नालाको पानी सडक भएर बग्दा बर्षा याममा पटक पटक आवागमन प्रभावित हुने गरेको छ । नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाई र ३४.४ मिटर लम्बाईको छ । यसैगरी पुलको दुबैतर्फ २०० मिटर एप्रोच सडक पनि निर्माण गरिनेछ ।
खजुराका स्थानीयहरुले खजुराबासीको लामो समयदेखिको पहलपछि पुल निर्माण कार्य सुरु भएको जानकारी दिँदै निर्माण कम्पनीको कामबाट आम स्थानीय बासिन्दा उत्साहित भएको बताए । पुल निर्माण कार्यको अवस्थाबारे जानकारी लिन हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले नियमित अनूगमन गर्ने गरेको छ ।
सत्यपाटी