२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

चिसोबाट जोगाउन बाँकेमा दाउरा वितरण गर्दै नेपाली सेना

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस १६ गते बुधबार

बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सोबाट सर्वसाधारणको राहातका लागि नेपाली सेनाको बज्रदल गण राँझाले बाँकेका विभिन्न स्थानमा आगो ताप्न दाउरा वितरण गरेको छ ।

सेनाको बज्रदल गण राँझाका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार केही दिन यता बढेको अत्यधिक चिसोलाई मध्यनजर गरेर सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था गर्न दाउरा वितरण गरिएको हो ।

उनले जिल्लाका खजुरा, पुरैना, फुलटेक्रा, आलानगर लगायत विभिन्न स्थानहरुमा आगो ताप्न दाउरा सहयोग गरेको बताए । सेनाले चोकचोकमा पुगेर दाउरा खसालेर बालेपछि चिसोबाट अत्यधिक पीडित बनेका स्थानीयहरुले आगो तापेका छन् ।

नेपालगन्ज पुरैनाका राजकुमार श्रेष्ठले सेनाले चिसो पीडितका लागि निकै राम्रो काम गरेको जनाउँदै अन्य स्थानहरुमा पनि वितरण गर्न आग्रह गरे । उनले केही दिन यता बढेको चिसोले सर्वसाधारणलाई अतिनै समस्यामा पारेको पनि बताए ।

सोही प्रकारले बाँकेका स्थानीय तहहरुले पनि दाउरा वितरण गर्ने कार्य सुरु गरेका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन रुपन ज्ञवालीका अनुसार चिसो धेरै बढेकोले जिल्लाका आठ वटै पालिकाले दाउरा वितरण गरिरहेका छन् ।

उनका अनुसार केही स्थानीय तहले गरीब तथा विपन्नलाई कम्बल वितरण समेत गरिरहेका छन् । हालसम्म विभिन्न पालिकामा एक हजार ८० थान कम्बल वितरण भइसकेको ज्ञवालीले जानकारी दिए । जानकी गाउँपालिकामा ८००, राप्तीसोनारी गाउँपालिकामा १८०, कोहलपुर खजुरामा ५०–५० थान कम्बल वितरण गरिएको छ । बैजनाथले पनि कम्बल वितरण सुरु गरेको जनाएको छ ।

जाडो बढेपछि यहाँका सबै पालिकाले विद्यालयहरुमा जाडो बिदा दिएका छन् । बाँकेमा जिल्ला विपद् व्यवस्थापन समितिले चिसो तथा शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी सोही अनुसार काम गरिरहेको जनाएको छ । उक्त योजना अनुसार यस वर्ष बाँकेमा ३६ हजार घरपरिवारका एक लाख ७६ हजार मानिस चिसो तथा शीतलहरबाट प्रभावित हुने प्रक्षेपण गरिएको थियो ।

प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार