भारतले नेपाललाई भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा ६५४ मेगावाट विद्युत् आयात गर्न दिएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आईएक्सको डे अहेड र रियल टाइम बजारबाट चौबीसै घण्टा (आरटीसी) ६५४ मेगावाट विद्युत् आयात गर्न अनुमति नवीकरण गरेको हो ।
यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको छ । यो अनुमति १७ पुसदेखि १७ चैतसम्म (१ जनवरीदेखि ३१ मार्च २०२६) का लागि नवीकरण भएको छ ।
त्यसपछिको १८ चैतदेखि १५ भदौसम्म (१ अप्रिलदेखि ३१ अगस्ट २०२६) को अवधिका लागि भने पछि नवीकरण गरिने प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मङ्गलबार भारतीय विद्युत् मन्त्रालयका अधिकारीहरूसँग टेलिफोनमा कुरा गरी आरटीसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए । उनले यो अनुमतिले हिउँदयाममा विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताएका छन् ।
सत्यपाटी