२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

अनुसन्धान नै नभइ बिदा हुँदै पशुपति भेटी चोरीका मुख्य आरोपी कोषाध्यक्ष सुवेदी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १६ गते बुधबार

आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्यकाल सकिँदैछ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालको पहुँचका कारण भेटी चोरीको संरक्षककर्ता सुवेदीले अनुसन्धान नभइ उन्मुक्ति पाउने भएका हुन् ।

भेटी चोरीमा संलग्न अभियुक्तले रंगेहात पक्राउ पर्दा कोषाध्यक्ष नारायण सुवेदीले नै भेटी चोर्न अह्राएको बयान दिएका थिए । उनको कार्यकाल पुस १७ गते सकिँदैछ । तर तत्कालीन नेकपा एकीकृत समाजवादीको निर्वाचन समिति सदस्य समेत रहेका कोषाध्यक्ष सुवेदीले प्रहरीमाथि राजनीतिक दबाब बढाएपछि अनुसन्धान भएन ।

भेटी चोरी प्रकरणको अनुसन्धानमा खटिएका गौशाला प्रहरीका तत्कालीन एक अधिकृतले ‘सुवेदीलाई नछुन माथिबाटै दबाब आएपछि’ अनुसन्धान गर्न नसकिएको बताए । महाशिवरात्रि पर्वमा आफ्नै सम्धिनीलाई रंगरोगनको ठेक्का दिलाउने, जुत्ता चप्पलको झोला, बागमती नदीको बालुवा सम्याउनेसहित विभिन्न आर्थिक अपचलनमा परेका सुवेदी पुनः कोषाध्यक्ष बन्न सिंहदरबार धाउने गरेको छन् ।

२०८१ जेठ ७ गते पशुपतिनाथ मन्दिरभित्रै भेटी चोर्दा चोर्दै मन्दिर परिसरबाट अभियुक्तहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको थियो । भेटी चोरीमा संलग्न कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ बस्ने ३४ वर्षका अनिल परियारले कोषाध्यक्ष सुवेदीले ज्याकेट लगाएर आउनू भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका थिए । ‘सीसीटीभी छ, हामी यस्तो काम नगर्नेभन्दा केही हुँदैन, कसैले देख्दैन गर भन्नुभयो, अनि गरेको,’ उनले बयानमा भनेका थिए ।

नेकपा एमालेको कर्मचारी संगठनमा हुँदा नै पूर्वप्रधानमन्त्री नेपालसँग नजिकिएका कोषाध्यक्ष सुवेदीको नैतिक र आर्थिक आचरणका सन्दर्भमा पनि तत्कालीन नेकपा एकीकृत समाजवादीका नेताहरूसम्म गुनासो पुगेको थियो । तर कुनै कारबाही भएन ।

भेटी चोरीमा संलग्न कोषका तत्कालीन नायब सुब्बा नवराज ढोडारी, काठमाडौँ महानगरपालिका–६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत नवराज घिमिरे, कागेश्वरी मनोहरा–९ बस्ने ३५ वर्षका कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१२ का २९ वर्षीय सञ्जय कपाली लगायत पक्राउ परेका थिए । परियारद्वय र कपाली कोषका बाजा बजाउने कर्मचारी हुन् । कोषाध्यक्ष सुवेदीलाई २०७८ मा तत्कालीन पर्यटनमन्त्री एवं तत्कालीन एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले नियुक्त गरेका हुन् ।

सम्धिनीलाई ठेक्का

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफ्नै सम्धिनीलाई पशुपति क्षेत्र विकास कोषले निकालेको टेण्डरमार्फत ठेक्का दिएका छन् । कोषाध्यक्ष सुवेदीले २०७९ को महाशिवरात्री पर्वमा पशुपतिनाथ मन्दिर र मन्दिर परिसरमा रगरोगन गर्ने ठेक्का आफ्नै सम्धिनी शशिकला पराजुलीलाई दिएका हुन् । खुला प्रतिस्पर्धाबाट ठेक्का दिनुपर्ने भए पनि कोषाध्यक्ष नारायण सुवेदीले आफ्नो पहुँचकै आधारमा सम्धिनीलाई ठेक्का सुम्पिएका हुन् ।

२०७९ को महाशिवरात्री पर्वमा पशुपतिनाथ मन्दिरमा रंगरोगन गर्नका लागि ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । टेण्डर गरेर काम गराउँदा २७ लाख रुपैयाँ खर्च भएको थियो । काठमाडौं महानगरपालिका–३१, ठेगाना भएको एफएए सप्लायर्स प्राइभेट लिमिटेडमार्फत रंगरोगनको भुक्तानी गरेको देखिन्छ । एफएए सप्लायर्स प्रालि कोषाध्यक्ष सुवेदीकी सम्धिनी शशिकला पराजुलीकै नातेदारको कम्पनी रहेको खुलेको छ ।

शीकलाले ठेक्का लिएपछि रंगरोगनको सम्पूर्ण काम आफै गराएकी थिइन् । साथै ठेक्कामा गरिएको प्रतिवद्धता विपरीत कमसल खालको जुत्ता चप्पलको झोला खरिद गरेपछि कोषाध्यक्ष सुवेदीले आर्थिक अपचलन गरेको खुलेको थियो । तर उनीमाथि अनुसन्धान भएन । कोषको आर्थिक महाशाखाका कर्मचारीबाट चेक लिने, साट्नेदेखि श्रमिकलाई भुक्तानी दिनेसम्मको काममा कोषाध्यक्ष सुवेदीको संरक्षणमा शशीकलाले नै गरेकी थिइन् । कोषको आर्थिक महाशाखाका कर्मचारीले पनि नारायण सुवेदीले आफ्नै सम्धिनीलाई ठेक्का दिएको पुष्टि गरेको थिए ।

प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार