२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

नयाँ वर्ष मनाउन सौराहा, भरिए होटल र रेस्टुराँ

सत्यपाटीसत्यपाटी । चितवन । २०८२ पुस १६ गते बुधबार
नयाँ वर्षका लागि चिटिक्क पारिएको सौराहाको एक होटल ।

अंग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गथ्र्यो । पछिल्ला वर्षहरूमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गरेका थिए । यस पटक भने केही दिनअघि नै आन्तरिक पर्यटकको घुँइचो लागेको छ । क्षेत्रीय होटल संघ नेपालका महासचिव महेश खनाल विगतमा राति १२ बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्थे ।

सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिशमस र नयाँ वर्षका कारण ३० प्रतिशतभन्दा बढी पर्यटक थपिएको उनी बताएँछन् । पर्यटक थपिएसँगै होटलको अक्युपेन्सी ७० प्रतिशत हाराहारी पुगेको थियो । आज साँझ भने सौराहाका अधिकांश होटल भरिने उनको आकलन छ । ‘९० प्रतिशतभन्दा माथि कोठाहरू पर्यटकले भरिने छन्,’ उनी भन्छन् ।

मौसमका कारण विगत चार दिनदेखि जहाज नचलेको, दाउन्नेको बाटो अवरुद्ध बनेको र मुग्लिन–नौबिसे सडक मर्मतका कारण यातायात असहज हुँदा अझै सोचेजति पर्यटक आउन नसकेको उनको भनाइ छ । जेनजी आन्दोलनपछि निरास बनेका व्यवसायी पछिल्ला दिनमा पर्यटकको आगमन राम्रो भएपछि आशावादी बनेको उनी बताउँछन् । होटल संघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका सौराहाको जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे नयाँ वर्षसँगै सौराहा भरिभराउ भएको बताउँछन् ।

नयाँ वर्षको अघिल्लो दिन आफ्नो होटल अग्रिम रुपमा भरिने गरेको बताउँदै घिमिरे रातिसम्ममा सौराहाका अधिकांश होटल भरिने अनुमान लगाउँछन् । यो समयमा स्वदेशी पर्यटक धेरै आउने गरेको उनी बताउँछन् । क्षेत्रीय होटल संघ नेपालका पूर्वअध्यक्ष दीपक भट्टराई आफ्नो होटल भरी सकिएको बताउँछन् । अहिले ७० प्रतिशतभन्दा बढी नेपाली पर्यटक भएको भट्टराईको भनाइ छ । ‘नयाँ वर्षमा खुला र होटलहरूले गर्ने कार्यक्रममा रमाउन पर्यटक आउने गर्छन्,’ उनी भन्छन् ।

नयाँ वर्ष मनाउन आउनेको चहलपहल निकै बढेको पूर्वअध्यक्ष घिमिरेका अनुसार सुनाउँछन् । आन्दोलन, सडकको समस्या र जहाज रोकिँदा पर्यटक घट्छन् कि भन्ने डर रहेको भए पनि अहिलेको अवस्था हेर्दा नयाँ वर्षमा पर्यटकको राम्रो आगमन हुने देखिएको उनी बताउँछन् । जहाजका कारण आफ्ना पाहुना रोकिएको बताउँदै मौसमको चुनौतीका बाबजुत पर्यटक सौराहा आएको उनी सुनाउँछन् । गत वर्षको नयाँ वर्षमा भन्दा यो वर्ष पर्यटक बढ्ने उनको आकलन छ ।

सौराहामा पर्यटक बढ्दै गर्दा रेस्टुराँमा पनि पर्यटक भरिन थालेका छन् । रेस्टुरा एन्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेस्टुरामा पर्यटक आउने क्रम बढ्दो छ । साँझ अबेर हुँदै गर्दा सौराहाको बगर क्षेत्र भरिने उनी खतिवडा बताउँछन् । सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटक नयाँ वर्ष मनाउन आउने गर्छन् । तेस्रो मुलुकका पर्यटक यतिवेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय तथा स्वदेशी पर्यटक धेरै हुने गर्छन् ।

प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार