शीतलहरका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शीतलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भइ एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधन सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको आयोजनाले जनाएको छ ।
मौसममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न आयोजनाले अनुरोध गरेको छ । सो सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित वैकल्पिक सडकको प्रयोग गर्न सकिने आयोजनाले स्पष्ट पारेको छ ।
पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जाने र बुटवल–काठमाडौं जाने सवारी साधनहरू काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।
साथै, विभागले सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिन विभिन्न फोन नम्बरहरू पनि सार्वजनिक गरेको छ । जसमा ९८५७०८७२२२ (जिल्ला ट्राफिक), ९८५७०४०९२७ (दुम्कीबास प्रहरी), ९८५५०२७८२० र ९८५७०८२३४० (आयोजनाको सूचना अधिकारी), ९८६९७९३१२९ र ९८६०४४१२२९ (परामर्शदाताको इन्जिनियर), ९८१९८८४४१६र ९८४१६००९२३ (निर्माण व्यवसायीको इन्जिनियर) रहेका छन् ।
सत्यपाटी