बंगलादेशको मयमनसिंह जिल्लामा रहेको कपडा कारखाना भित्र एक हिन्दु कामदारको गोली हानी हत्या गरिएको छ । यो बंगलादेशमा १२ औँ दिनमा हिन्दुको तेस्रो हत्या हो । घटना स्थानीय समयअनुसार सोमबार साँझ ६ः४५ बजे भालुका उपजिल्लामा रहेको सुल्ताना स्वेटर लिमिटेड कारखानामा भएको हो ।
मारिएका व्यक्ति कारखानामै कार्यरत सुरक्षा गार्ड ४२ वर्षीय बजेन्द्र विश्वास हुन् । प्रहरीले हत्या अभियोगमा २९ वर्षीय नोमान मियालाई पक्राउ गरेको छ । प्रहरी र प्रत्यक्षदर्शीका अनुसार दुवै कारखानामा सुरक्षा ड्युटीमा थिए । कुराकानीमा क्रममा नोमान मियाले बजेन्द्रलाई सरकारले जारी गरेको बन्दुक तेर्स्याए । बन्दुक पड्कियो र बजेन्द्रको बायाँ तिघ्रामा गोली लाग्यो अनि उनको मृत्यु भयो ।
बंगलादेशमा दुई हप्ताभित्र तीन हिन्दुको हत्या
यसअघि डिसेम्बर २४ बुधबार राति ११ बजे एक हिन्दु युवकलाई कुटपिट गरी हत्या गरिएको थियो । घटना राजबारी जिल्लाको होसेन्डाङ्गा गाउँमा भएको हो । प्रहरीका अनुसार मृतक २९ वर्षीय अमृत मण्डल उर्फ सम्राट हुन् । प्रहरीले अमृतलाई जबरजस्ती चन्दा असुलीको आरोपमा भिडले हत्या गरेको बताएको छ ।
उनी होसेन्डाङ्गा गाउँका बासिन्दा थिए । प्रहरीले अमृतविरुद्ध पाङ्सा प्रहरी चौकीमा दुई मुद्दा दर्ता भएको बताएको छ, जसमा एउटा हत्या सम्बन्धी पनि छ । यसअघि डिसेम्बर १८ मा ढाकानजिकै हिन्दु समुदायकै युवक दिपु चन्द्र दासको भिडले हत्या गरेको थियो । मारेर पनि उनलाई रूखमा झुन्ड्याएर जलाइएको थियो ।
सत्यपाटी