२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

एमाले नेता वासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा

सत्यपाटीसत्यपाटी । रुपन्देही । २०८२ पुस १६ गते बुधबार

नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा छन् । संघीयतापछि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बनेका घिमिरे २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

घिमिरेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेटघाट गरेपछि रास्वपा प्रवेशको चर्चा सुरु भएको हो । सोमबार शाहसँग भेटेर मंगलबार रुपन्देही फर्किएका घिमिरेले आफूलाई प्रस्ताव आएको स्वीकार गर्दै रातोपाटीसँग भने, ‘प्रस्ताव आएको छ, तर अझै ठोस निर्णय गरेको छैन ।’

स्रोतका अनुसार उनलाई रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्तावसमेत आएको छ र त्यसमा उनी सकारात्मक देखिएका छन् । रास्वपाले औपचारिक कार्यक्रममार्फत घिमिरेलाई पार्टी प्रवेश गराउने तयारी गरिरहेको बताइएको छ ।

यसैबिच, मंगलबार राति घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले परित्यागको घोषणा गरेका छन् । उनले देशप्रति अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य सर्त भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वबाट आम जनताको चाहना सम्बोधन हुने अवस्था नदेखिएको निष्कर्ष निकालेका छन् ।

यही कारण आफू संलग्न रहेको पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उनको भनाइ छ । तिलोत्तमा नगर प्रमुख रहँदा उत्कृष्ट काम गरेको भन्दै मेयर बालेन शाहले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा घिमिरेको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेका थिए ।

यसअघि नै एमाले लुम्बिनी पूर्व प्रदेश कमिटी सदस्य मञ्जु भुसाल र युवा संघका पूर्व केन्द्रीय सदस्य श्रद्धा कुँवरलाई रास्वपाले समानुपातिक सूचीमा राखिसकेको छ । केही दिनअघि एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की पनि रास्वपा प्रवेश गरिसकेका छन् ।

एमालेले समानुपातिक सूचीमा रुपन्देही जिल्लाबाट एक जनाको पनि नाम नपठाएपछि जिल्लाका कार्यकर्तामा पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको बताइएको छ । यही असन्तुष्टिको पृष्ठभूमिमा घिमिरेसहितका नेताहरूको रास्वपातर्फ आकर्षण बढ्दै गएको देखिन्छ ।

प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार