सडक विभागले पूर्व–पश्चिम राजमार्ग अन्तरगत दाउन्ने खण्डमा अत्यावश्यक बाहेक यात्रा नगर्न सचेत गराएको छ । विभागले आज सूचना प्रकाशित गरी ‘विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भइ यातायात आवागमनमा कठिनाई उत्पन्न भएको र केही स्थानहरुमा कलभर्ट तथा सडक ढलानको कार्य भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको’ जनाएको छ ।
तसर्थ, मौसममा सुधार नहुन्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न विभागले सबैमा अनुरोध गरेको छ । विभागले वैकल्पिक सडकका रुपमा पूर्व–पश्चिम राजमार्ग हुँदै आउने जाने सवारीसाधनलाई नारायणघाट–मुग्लिङ्ग–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल वा कालीगण्डकी चोक (गैंडाकोट)–रामपुर–पिपलडाँडा–पाल्पा–बुटवल सडक प्रयोग गर्न आग्रह गरेको छ ।
यस्तै, काठमाडौँबाट बर्दघाट पश्चिम जाने तथा बुटवल–काठमाडौँ जाने सवारी साधनले काठमाडौँ–मुग्लिङ्ग–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल सडक प्रयोग गर्न सक्नेछन् । दुई पांग्रे र डब्लुडी चार पांग्रे सवारीसाधनको लागि वैकल्पिक सडकको रुपमा दुम्कीबास–ज्यामिरे–डाँडाचोक–डमार–भुताहा खण्डको प्रयोग गर्न सकिने विभागले उल्लेख गरेको छ ।
साथै, विभागले सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिन विभिन्न फोन नम्बरहरू पनि सार्वजनिक गरेको छ । जसमा ९८५७०८७२२२ (जिल्ला ट्राफिक), ९८५७०४०९२७ (दुम्कीबास प्रहरी), ९८५५०२७८२० र ९८५७०८२३४० (आयोजनाको सूचना अधिकारी), ९८६९७९३१२९ र ९८६०४४१२२९ (परामर्शदाताको इन्जिनियर), ९८१९८८४४१६र ९८४१६००९२३ (निर्माण व्यवसायीको इन्जिनियर) रहेका छन् ।
सत्यपाटी