२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

बाँकेमा तीन लाख ५१ हजार ४३९ मतदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके जिल्लाबाट तीन लाख ५१ हजारभन्दा बढी मतदाताले मतदान गर्ने भएका छन् । जिल्लामा मतदाताको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको जनाउँदै जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले कुल मतदाताको सङ्ख्या तीन लाख ५१ हजार ४३९ पुगेको बताए ।

उनले जिल्लामा हालै गरिएको छुटेका मतदाता नामावली सङ्कलनको क्रममा १७ हजार ५०५ जना नयाँ मतदाता थपिएको बताए । प्रमुख शाहीका अनुसार मतदाता सङ्ख्या वृद्धि भएसँगै जिल्लामा मतदानस्थल र मतदान केन्द्रसमेत थप गरिएको छ । यसअघि १३८ मतदानस्थल रहेको बाँकेमा एउटा मतदान स्थल थपिएको छ भने ३८० मतदान केन्द्र रहेकोमा २३ मतदान केन्द्र थपेर हाल ४०३ वटा मतदान केन्द्र बनेका छन् ।

केही मतदान केन्द्र अपायक भएको भन्दै सार्नका लागि निवेदन समेत परेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर आठ र नौ, खजुरा गाउँपालिकाको वडा नम्बर सात तथा राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर दुईका मतदान केन्द्र अपायक भएको जनाउँदै स्थानान्तरणका लागि निवेदन आएको प्रमुख शाहीले बताए । उनले मतदाता नामावली सुधारका क्रममा जिल्लामा २४१ वटा निवेदन त्रुटि सच्याउन र ४६८ वटा निवेदन अद्यावधिक गर्नका लागि परेको छ ।

साथै, दोहोरो नाम दर्ता भएका ९९३ जनाको नाम मतदाता सूचीबाट हटाइएको निर्वाचन कार्यालयले जनाएको छ । बाँकेमा प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर एकमा एक लाख २१ हजार ५३१, क्षेत्र नम्बर दुईमा ९८ हजार ५१२ र क्षेत्र नम्बर तीनमा एक लाख १३ हजार ८९१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार