२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

राष्ट्रियसभाका उम्मेदवारलाई साढे तीन लाखको ‘खर्च सिलिङ’, बैङ्क खाता अनिवार्य

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १४ गते सोमबार

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको हद तोकेको छ । उम्मेदवारले फजुल खर्च नगरून् र निर्वाचन पारदर्शी होस् भन्ने उद्देश्यले आयोगले प्रति उम्मेदवार साढे तीन लाख रुपैयाँको सिलिङ तोकेको हो ।

उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था गरिएको छ । खर्च गर्न पाइने मुख्य शीर्षकहरूः आयोगले तोकेको सीमाअनुसार उम्मेदवारले सवारीसाधनमा ७० हजार, गोष्ठी तथा अन्तरक्रियामा एक लाख र कार्यालय सञ्चालनमा ७० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

त्यसैगरी, प्रतिनिधि परिचालन र विविध शीर्षकमा ३०–३० हजार, प्रचारप्रसार सामग्री र छापा एवं विद्युतीय माध्यममा १४ हजार ५०० का दरले खर्च गर्न पाइनेछ । मतदाता नामावली खरिदका लागि एक हजार, सवारी इन्धनका लागि १० हजार र ढुवानीका लागि १० हजार रुपैयाँको सीमा तोकिएको छ ।

निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले आफ्नो खर्चको विवरण सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार आयोगमा पेस गर्नुपर्नेछ । यदि तोकिएको सीमाभन्दा बढी खर्च गरेको वा विवरण नबुझाएको पाइएमा कानुनी कारबाही हुने निर्वाचन आयोगले सचेत गराएको छ ।

प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार