धरान उपमहानगरका मेयर हर्क साम्पाङ आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा निकै सक्रिय देखिएका छन् । उनले सार्वजनिक गरेका भनाइहरू आक्रामक छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन साहबीच सहमति भएपछि धरानका मेयर साम्पाङ विरोधमा लेखिरहेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले आइतबार बिहान मात्रै ५ घण्टाको अवधिमा ३७ वटा फेसबुक स्ट्याटस र भिडियो लिङ्कहरू सेयर गर्दै रवि–बालेनको सहकार्यप्रति टिप्पणी गरेका छन् । उनले पहिलो स्टाटस् बिहान ७ः२६ बजे लेखेका छन् । त्यसयता अपराह्न १२ः१२ बजेसम्म ३७ स्टाटस् लेखेका हुन् ।
‘विदेशीको इशारामा देश चलाउन खोजियो’
आफ्नो पहिलो स्ट्याटसमा उनले जनतामा जाने साहस नभएकाहरूले प्रधानमन्त्रीको सपना देखेको भन्दै व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्, ‘जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ । फटाहाहरू । सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे ।’
उनले रवि र बालेनलाई लक्षित गर्दै ‘डलरे’ र ‘विदेशीद्वारा पालित–पोषित’को संज्ञा समेत दिएका छन् । मिडिया ट्रायलमार्फत प्रधानमन्त्री घोषणा गरिएको भन्दै उनले आफूहरू तीन करोड नेपाली जनतासँग मात्रै मिल्ने र विदेशी दलाली गर्ने पार्टीहरूसँग सहकार्य नगर्ने अभिव्यक्ति दिएका छन् ।
साम्पाङले आफ्नो पार्टीका नेता मित्र परियारलाई निष्कासन गर्नुको कारणबारे पनि स्पष्टीकरण दिएका छन् । उनले कारबाहीका दुई मुख्य कारणहरू उल्लेख गरेका छन् । पहिलो आयोजक श्रमदातालाई अपमान गरेर दम्भी व्यवहार देखाएको र दोस्रो श्रमदातालाई सुन्नै नसकिने अपशब्द प्रयोग गरी गाली गरेको उनको प्रष्टीकरण छ ।
‘जय हर्कवाद’को रटान
आफ्नो कार्यशैलीको बचाउ गर्दै साम्पाङले ‘हर्कवाद’ र ‘श्रम संस्कृति’ को पक्षमा वकालत जारी राखेका छन् । ढुङ्गा बोकेको फोटो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘यो वाद, त्यो वाद भन्दै रात पार्नेहरूलाई देश विकासमा ढुङ्गा बोकाउने धोको छ । जय हर्कवाद ।’
उनले आगामी निर्वाचनमा श्रम संस्कृतिले नै बहुमत ल्याउने दाबी गर्दै अन्य शक्तिहरूलाई ‘मिडिया ट्रायल’ मात्र भएको टिप्पणी गरेका छन् । यो अवधिमा उनी दुई पटक फेसबुक लाइभमा समेत बसेका छन् । फेसबुक लाइभमा पनि उनी निकै तनावमा देखिएका छन् ।
सत्यपाटी