२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

कमलपोखरीमा रवि र बालेन सहमतिका मध्यरात ६ घण्टा ४५ मिनेट

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १३ गते आइतबार

अन्तत काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह बालेन रास्वपा प्रवेश गरेका छन् । आइतबार बिहान रास्वपा र बालेनबीच सात बुुँदे एकता सहमति भएको छ । सहमति अनुसार रास्वपा सभापति रवि लामिछाने पार्टी सभापति रहनेछन् भने बालेन रास्वपाका तर्फबाट फागुन २१ को निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार हुनेछन् ।

सहमति अनुसार रवि पार्टी सभापति रहनेछन् भने बालेनलाई रास्वपाले आगामी निर्वाचनमा सहभागी गराएर संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बनाउने छ । दुई जनाबीच रातभर भएको वार्तापछि आइतबार बिहानै ‘बृहत् एकता’सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिले बालेन र उनका समूहका व्यक्तिहरूलाई रास्वपामा गोलबद्ध हुने र क्रमश त्यसलाई पार्टीमा अनुकुल समायोजन गर्दै जाने प्रतिबद्धता जनाइएको छ ।

एक सातादेखि सुरु भएको सहमतिको प्रयास लगभग विफल भएर नेताहरूले आस मारिसकेको अवस्थामा पुनः जुटेर आइतबार बिहान सहमतिमा हस्ताक्षर भएको सहमतिका लागि रातभर बैठकमा बिताएका रास्वपा उपसभापति डोलप्रसाद अर्याल डीपिले सिधाकुरालाई बताए । उपसभापति अर्यालका अनुसार शनिबार राति साढे ९ बजेबाट कमलपोखरीस्थित जी २१ डिजिटल स्टुडियोको कोठामा सुरु भएको सघन वार्ता बिहान ४ः१५ मा सहमतिमा हस्ताक्षर हुने अवस्थामा पुगेको थियो ।

बैठकमा रास्वपाकातर्फबाट सभापति रवि लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्ले, रवि बालेन वार्ताका लागि लामो समयदेखि घनिभूत छलफलमा रहेका सचिवालय सदस्य एवम् नेता शिशिर खनाल र केन्द्रीय सदस्य आसिम शाह सहभागी थिए । यस्तै, बालेनका तर्फबाट मेयर बालेन, उनका सल्लाहकार कुमार बेन, भुपदेव शाह, निर्माता निर्देशक आसिफ शाह तथा अर्का निर्देशक एवम् कलाकार निश्चल बस्नेत सहभागी थिए ।

प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार