२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

बालुवाटार बैठकको निष्कर्ष, ‘सबै दल निर्वाचनमा जान तयार’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १२ गते शनिबार

फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् । आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।

शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि मन्त्री खरेलले चुनावका लागि सरकार र दलहरूबिच सहमति जुटेको बताए ।

छलफलपछि मन्त्री खरेलले सञ्चारकर्मीलाई भने, ‘चुनावमा जाने कुरामा द्विविधा छैन । अब चुनाव हुन्छ, सबै राजनीतिक दल चुनावमा जान तयार छन् । वातावरण र सुरक्षाका लागि प्रधानमन्त्रीले स्पष्ट भन्नुभएको छ । अब चुनाव हुन्छ ।’

उनले अगाडि भने, ‘छलफलमा सभापति देउवाले कांग्रेसको प्राथमिकता चुनाव नै रहेको भन्नुभयो, एमाले अध्यक्ष ओलीले चुनावका लागि तयार रहेको तर वातावरण बनाइदिनुपर्यो भन्नुभयो ।’ चुनावमा अवरोध हुनसक्ने स्थानहद लगायत अन्य कुरा हट्दै र हटाइँदै जाने कुरामा छलफल भएको समेत उनले जानकारी दिए ।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि अब चुनाव हुनेमा द्विविधा नरहेको बताए । बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार