२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

हुम्लामा ३३ हजार ९०० मतदाता

सत्यपाटीसत्यपाटी । हुम्ला । २०८२ पुस १२ गते शनिबार

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा मतदाता संख्या ३३ हजार ९०० कायम भएको छ । यसअघि चौतीस हजार ५०२ मतदाताले निर्वाचन प्रयोजनका लागि आफ्नो नाम दर्ता गराए पनि उमेर नपुगेका कारण केही संख्या घटेको हो ।

अब फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाबाट ३३ हजार ९०० मतदाताले मात्र मतदान गर्न पाउने गरि मतदाता संख्या कायम भएको जिल्ला निर्वाचन अधिकृत भीमबहादुर रोकायाले बताए । मंसिर ५ गतेसम्म निर्वाचन कार्यालय र अन्यत्र आफ्नो नाम दर्ता गराउनेको संख्या ३४ हजार ५०२ कायम भए पनि फागुन २० गतेसम्म अठार वर्ष पुगेको मतदाता संख्या ३३ हजार ९०० कायम भएको उनले जानकारी दिए ।

आफ्नो नाम दर्ता गराएर पनि फागुन २० गतेसम्म १८ वर्ष उमेर नपुगेका ६०२ जना भने मतदानबाट वञ्चित हुनेछन् । यसमा अधिकांश जेनजी समुहका मतदाता छन् । अझै गाउँपालिका अनुसार र महिला पुरुष मतदाता संख्या भने आउन आगामी पुस १९ गते कुर्नुपर्नेछ । यता हुम्ला जिल्लामा ६० वटा मतदानस्थल र ६४ वटा मतदान केन्द्र कायम भएका छन् । २०७९ सालको संसदीय निर्वाचनमा ५८ मतदानस्थल र ६० वटा मतदान केन्द्र थिए ।

त्यस्तैगरि जिल्ला सुरक्षा समितिले सत्ताईस वटा मतदान स्थलहरु अति सम्वेदनशील ठहर गरिसकेको छ । जिल्ला सुरक्षा समितिको बैठकले भौगोलिक बिकटता र राजनीति बिबाद हुने ठहर गर्दै ती मतदानस्थललाई अति संवेदनशील ठहर गरेको थियो । समितिको निर्णय अनुसार २१ वटा सम्वेदनशील र १० वटा सामान्य रहेका छन । यसरी निर्धारण गरिएका मतदान स्थल अनुसार सुरक्षा ब्यवस्थासमेत निर्वाचनको बेला गरिनेछ । यसअघि २०७९ सालको निर्बाचनमा मतदाता संख्या ३३ हजार ३०८ रहेको छ ।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार