२०८३ असोज २३ , शुक्रबार 10, October 2026, Saturday

हुन्डी कारोबारको आरोपमा पक्राउ परे राजपाका नेता इरफान

जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ । प्रहरीले नेता शेखलाई पार्टीको कार्यक्रमका लागि कपिलवस्तु जाने क्रममा दाङ जिल्लाको अमिलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिए ।

उनलाई नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई, बालुवाटार काठमाडौँबाट प्राप्त जाहेरीका आधारमा दर्ता भएको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन डुडुवा गाउँपालिका–६ सुब्बापुर्वाका ४० वर्षीय नेता शेखलाई पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक पातलीका अनुसार अनुसन्धानका क्रममा चार करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शङ्कास्पद हुन्डीमार्फत अवैध आर्थिक कारोबार गरेको देखिएको छ ।

केवाइसी विवरणमा उल्लेख गरिएको अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबार बिच ठूलो अन्तर देखिएपछि उक्त गतिविधि हुन्डी तथा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ) सँग सम्बन्धित हुनसक्ने आशङ्कामा थप छानबिन आवश्यक ठानिएको प्रहरीले जनाएको छ । सोही मुद्दामा कोहलपुर नगरपालिका–१४ का विष्णु खटिकसमेत संलग्न रहेको आशङ्कामा समानान्तर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अध्ययनका क्रममा दुवै जनाको बैंक खातामा ठूलो रकमको टर्नओभर देखिएको र खातामा जम्मा हुने नगदै रकम तुरुन्तै विद्युतीय माध्यमबाट विभिन्न व्यक्ति एवम् संस्थाहरूमा रकमान्तर हुने गरेको फेला परेको प्रहरीको भनाइ छ । पक्राउ परेका शेष यसअघि जनमत पार्टीमा संलग्न थिए । उनले गत प्रतिनिधिसभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका उनी यसपटक राष्ट्रिय जनमत पार्टी खोलेर फेरि पनि निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा लागेको बताइएको छ ।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार