हुम्लाबाट नेपालगन्ज झर्ने हवाई यात्रुहरु यतिबेला चार्टर उडानको भाडा तिर्न बाध्य हुँदै आएका छन् । जाडोका कारण नेपालगन्जबाट हुम्लाको सिमकोट विमानस्थल जाने यात्रु नहुने र भए पनि कम हुने भएका कारण नीजि एयरलाइन्सहरुले चार्टर उडानको भाडा लिने गर्दै आएका हुन् ।
सिमकोटबाट नेपालगन्ज जान लागेका सिमकोट गाउँपालिका–५ का स्थानीय जसमति रोकायाले सिमकोट विमानस्थलमा हवाई यात्रुहरुले चार्टर उडानको भाडा तिर्नुपरेको बताए । नीजि एयरलाइन्सहरुले हाल सिमकोटबाट नेपालगञ्जका लागि चार्टर उडानको भाडादर १३ हजार ८३० रुपैयाँ लिँदै आएका छन् ।
यसअघि सेडुअल उडानमा तीनै जहाजहरुले आठ हजार ९०३ रुपैयाँ लिँदै आएका थिए । यसरी चार्टर उडान हुन थालेपछि महङ्गो भाडा तिरेर हवाई यात्रा गर्नुपरेको यात्रुहरुको गुनासो छ । हाल दैनिक रुपमा उडान भर्ने सबै निजी एयरलाइन्सहरुले चार्टर उडानको भाडा लिने गर्दै आएका छन् । यसरी एयरलाइन्सहरुलाई चार्टर उडान भर्नुपर्ने बाध्यता रहेको समिट एयर सिमकोटका प्रमुख गोविन्द लामाले बताए ।
नेपालगन्जबाट तीन चार जना यात्रु बोकेर सिमकोटका लागि उडान भर्नुपर्ने भएका कारण एयरलाइन्सहरुले आफ्नो खर्च व्यवस्था गर्नका लागि चार्टर उडान भर्नुपर्ने अवस्था रहेको उनले बताए । सेडुअल उडानमा एयरलाइन्सहरुले उडान भर्दा घाटामा सेवा प्रदान गर्नुपर्ने भएका कारण चार्टर उडानको भाडा लिनुपर्ने बाध्यता आफुलाई रहेको उनले बताए ।
यदी नेपालगन्जबाट सिमकोट जाने हवाई यात्रु पूरै सिट भरिने गरी हुने हो भने सिमकोटबाट नेपालगन्जका लागि सेडुअल उडानमा उडान भर्न नकिने अवस्था आउन सक्ने उनले बताए । हाल नेपालगन्जबाट सिमकोटका लागि समिट, सीता र तारा एयरका जहाजहरुले उडान भर्ने गरेका छन् ।
पुस महिना सुरु भएसँगै नेपालगन्जमा हुस्सु लाग्न सुरु भएका कारण उडान पनि ढिलो गरी हुन थालेका छन् । यता हप्तामा तीन वटा उडान भर्दै आएको नेपाल एयरलाइन्सले भने सेडुअल उडानको भाडा लिने गर्दै आएको छ । नेपालगन्जमा हुस्सु लाग्न सुरु भएपछि नेपाल एयरलाइन्सका उडान पनि प्रभावित हुने गरेका छन् । जाडो बढेपछि सिमकोटबाट नेपालगन्ज झर्ने यात्रुहरुको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको छ ।
सत्यपाटी