२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

बाँकेमा ९९३ जनाको मतदाता नामावली दोहोरो, अब के हुन्छ ?

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ पुस १२ गते शनिबार

बाँकेको फोटोसहितको मतदाता नामावलीमा ९९३ जनाको दोहोरो नाम फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम फेला परेको हो ।

सबैभन्दा बढी नेपालगन्ज र सबैभन्दा कम कोहलपुर नगरपालिकामा दोहोरो नाम दर्ता गराएको पाइएको जनाउँदै जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाही शाहीले नाम केन्द्रमा पठाएपछि केन्द्रबाट ९९३ जनाको नाम दोहोरो परेको जानकारी आएको बताए ।

उनले भने, ‘हामीले नाम दर्ता गरेर केन्द्रमा पठाएपछि मात्रै थाहा पायौँ । हाल नाम अद्यावधिक गर्ने कार्य जारी रहेको र मतदाता नामावलीको दोहोरो नाम हटाउने काम भइरहेको छ ।’ बाँकेमा २३ वटा मतदान केन्द्र थप हुने सम्भावना देखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई जनसङ्ख्याका आधारमा निर्वाचन केन्द्र थप हुने जानकारी गराए अनुसार जिल्लामा केन्द्र थप हुन सक्ने निर्वाचन अधिकारी शाहीले जानकारी दिए ।

उनले भने, ‘यसमा केही तलमाथि हुन सक्छ तर अन्तिम निर्णय आज पुस १२ गतेपछि मात्रै हुनेछ । यससँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या ४०४ पुग्नेछ । यसअघि जिल्लामा ३८१ मतदान केन्द्र रहेका थिए ।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार