२०८२ माघ १ , बिहीबार 16, January 2026, Friday

चौरजहारीमा घरको जग खन्दा सकेट बम फेला

सत्यपाटीसत्यपाटी । रुकुम पश्चिम । २०८२ पुस १२ गते शनिबार

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ । स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ बम फेला परेको हो ।

जग खन्ने क्रममा जमिन मुनि विस्फोटक पदार्थ जस्तो देखिने वस्तु भेटिएपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए । लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु सकेट बम जस्तो देखिएको छ । ‘स्थानीयको सूचना पाउन साथ हाम्रो टोली पुगेर घटनास्थललाई सुरक्षित घेरामा राखेको छ,’ पुनले भने ।

उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको छ। राति भइसकेकाले सुरक्षा व्यवस्था कडा पारिएको र सम्भवतः आज बिहान सेनाको डिस्पोजल टोलीले उक्त बमलाई सुरक्षित व्यवस्थापन गर्ने तयारी गरेको पुनले बताए ।

विगतमा सशस्त्र द्वन्द्वको प्रभाव रहेको क्षेत्र भएकाले यो वस्तु द्वन्द्वकालमै छुटेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, यसको आधिकारिक पुष्टि भने सेनाको प्राविधिक टोलीले जाँच गरेपछि मात्र हुनेछ ।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार