बाँके जिल्लाको अन्य क्षेत्रको तुलनामा स्वास्थ्य सेवाको सबैभन्दा कम पहुँच भएको नरैनापुर गाउँपालिकामा स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले निर्माण भइरहेको १५ शैय्याको पालिकास्तरीय अस्पताल भवन निर्माण कार्य बजेट अभावले रोकिएको छ ।
नरैनापुर क्षेत्रका स्थानीय बासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको अस्पताल भवन निर्माण बजेट अभावका कारण बिचमै रोकिएको हो । नरैनापुर गाउँपालिका–४ मा १५ शैय्याको पालिकास्तरीय अस्पताल सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको अस्पताल भवन निर्माण ९० प्रतिशत पूरा भइसकेको छ ।
तर सङ्घीय सरकारबाट बजेट निकासा नहुँदा अन्तिम चरणको काम रोकिएको गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार करिब १६ करोड ९७ लाख ५१ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण सुरु गरिएको हो ।
उनले भने, ‘भवन लगभग तयार भइसकेको छ, तर बजेट नआउँदा काम रोकिएको छ ।’ बाँकी बजेट तत्काल निकासा गर्न उनले सम्बन्धित मन्त्रालयसँग आग्रह पनि गरेका छन् । गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतले अस्पताल भवनको भौतिक तथा वित्तीय प्रगति ९० प्रतिशत पुगेको जानकारी दिए ।
उनले सङ्घीय सरकारबाट निकासा नआएकाले निर्माण कम्पनीलाई अन्तिम किस्ताको भुक्तानी गर्न नसकिएको हुँदा निर्माण कार्य ठप्प भएको बताए । अस्पताल भवन निर्माणका लागि नरैनापुर गाउँपालिका र हनुमान कन्स्ट्रक्सनबीच २०७९ चैत १० गते ठेक्का सम्झौता भएको थियो ।
सम्झौता अनुसार २०८० असोज १० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । तर सम्झौताको समयअवधि सकिएको दुई वर्ष बिते पनि रकम नपाउँदा अझै काम रोकिएको निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज रोजन थापाले बताए । उनले अन्तिम किस्ताको रकम सुनिश्चित भए एक महिनाभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न सकिने बताए ।
स्वास्थ्य सेवामा पछाडि परेको नरैनापुरका नागरिकका लागि यो अस्पताल ठुलो आशा र भरोसाको केन्द्र रहेको गाउँपालिकाले जनाएको छ । बजेट अभावका कारण ९० प्रतिशत निर्माण पूरा भएको अस्पताल भवन अलपत्र पर्दा स्थानीयवासी चिन्तित बनेका छन् ।
सत्यपाटी