२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

थाइल्यान्डले विष्णु मूर्ति भत्कायो, विश्वभर आक्रोश

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ११ गते शुक्रबार

थाइल्यान्ड सरकारले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दू देवता विष्णुको मूर्ति आफ्ना सेनाले भत्काएको पुष्टि गरेको छ । थाइल्यान्डका अनुसार यो कदम धर्म वा विश्वासको अनादर गर्ने उद्देश्य नभई सीमा क्षेत्रमा नियन्त्रण कायम गर्न र सुरक्षा सुनिश्चित गर्नका लागि थियो । उनीहरूले मूर्तिलाई धार्मिक स्थल नभई केवल सजावटी वस्तु भनेका छन् ।

दुई छिमेकी देशबिच दुई हप्ताभन्दा बढी समयदेखि चलेको सैन्य झडपका क्रममा मूर्ति भत्काइएको हो । कम्बोडियाका अधिकारीहरूले यसको विरोध गरेका छन् । प्रेह विहार प्रान्तका प्रवक्ताले मूर्ति सन् २०१४ मा निर्माण भएको र सोमबार भत्काइएको बताए । कम्बोडियाले मूर्ति आफ्नो भूमिमा रहेको र धार्मिक महत्वको भएको दाबी गरेको छ ।

थाइल्यान्डले उक्त संरचना कुनै आधिकारिक धार्मिक स्थलको रूपमा दर्ता नभएको र केवल सजावटी तत्व मात्र रहेको स्पष्ट पारेको छ । मन्त्रालयले भनेको छ, ‘अझ महत्त्वपूर्ण कुरा, यस क्षेत्रको प्रभावकारी नियन्त्रण सुनिश्चित गर्ने उद्देश्यका साथ मूर्ति हटाइएको थियो ।’ मूर्ति भत्काइएको भिडियो यस हप्ता थाई सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो । गुगल नक्सा अनुसार मूर्ति कम्बोडियाको सीमाबाट करिब ४०० मिटर टाढा रहेको देखिन्छ ।

यो क्षेत्र लामो समयदेखि सीमा विवादको केन्द्र बन्दै आएको छ । भारतले पनि मूर्ति भत्काउनु ‘अपमानजनक कार्य’ भन्दै चिन्ता व्यक्त गरेको छ । यो घटनाले विश्वभरका हिन्दु धर्मावलम्बीलाई आहत बनाएको छ । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले ‘नष्ट भएको मूर्तिलाई सैनिकहरूको जीवन वा अंगहरूसँग तुलना गर्न सकिँदैन’ भन्दै विवाद नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार